नेपाल भूराजनीतिक तानातानीको केन्द्रमा, राष्ट्रिय दृष्टिकोण आवश्यक : वर्षमान पुन

0 Shares

काठमाडौं, जेठ ६ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ ले नेपाल वर्तमान विश्व भूराजनीतिक प्रतिस्पर्धाको महत्वपूर्ण केन्द्रमा रहेको बताएका छन्।

पार्टीसम्बद्ध बुद्धिजीवी संगठनको राष्ट्रिय एकता भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै पुनले पुराना र उदाउँदा विश्वशक्तिबीचको प्रतिस्पर्धाको प्रत्यक्ष प्रभाव नेपालमा परेको बताएका हुन्। विश्व राजनीतिक शक्ति क्रमशः एसियातर्फ सर्दै गएको र चीन तथा भारतको बढ्दो प्रभावका कारण नेपाल पनि भूराजनीतिक चासोको केन्द्र बनेको उनको भनाइ थियो।

“विश्व शक्ति एसियाली भूमितिर सर्दैछ। चीन–भारतको वरिपरि विश्वशक्ति केन्द्रित हुँदैछ। पुरानो र नयाँ शक्तिबीचको तानातानीको एउटा केन्द्र नेपाल पनि हो,” पुनले भने, “हामी चाहेर पनि त्यसबाट पूर्ण रूपमा अलग रहन सक्दैनौं। भूराजनीति केवल हाम्रो नियन्त्रणमा मात्र छैन।”

उनले नेपालले बाह्य शक्तिहरूको चासो र प्रभावलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा स्पष्ट राष्ट्रिय दृष्टिकोण निर्माण गर्नुपर्नेमा जोड दिए। सम्भावित भूराजनीतिक परिवर्तनका कारण उत्पन्न हुने हस्तक्षेप वा दबाबका लागि नेपालको आन्तरिक कमजोरी मात्र जिम्मेवार नहुने उल्लेख गर्दै उनले राष्ट्रिय हितको संरक्षणमा सचेत रहनुपर्ने बताए।

कम्युनिष्ट आन्दोलनको आत्मसमीक्षा आवश्यक

पुनले २०७४ सालमा कम्युनिष्ट शक्तिहरूले प्राप्त गरेको झण्डै दुईतिहाइ जनमतलाई सही ढंगले उपयोग गर्न नसक्दा जनतामा निराशा पैदा भएको स्वीकार गरे। तत्कालीन नेकपाको एकता जोगाउन नसक्नु नै कम्युनिष्ट आन्दोलनप्रति जनविश्वास कमजोर हुनुको प्रमुख कारण रहेको उनको भनाइ थियो।

“दुईतिहाइ जनमत प्राप्त गरेको कम्युनिष्ट शक्ति किन रक्षात्मक अवस्थामा पुग्यो भन्ने प्रश्नको जवाफ खोज्नुपर्छ,” उनले भने, “विचार, नेतृत्व, कार्यशैली र संगठनका कमजोरीबारे गम्भीर आत्मसमीक्षा नगरी अगाडि बढ्न सकिँदैन।”

समाजवादी आन्दोलनको भविष्य जीवित रहेको दाबी

समाजवादी आन्दोलनको भविष्य समाप्त नभएको दाबी गर्दै पुनले विश्वका विभिन्न देशका पछिल्ला राजनीतिक घटनाक्रमले त्यसको पुष्टि गरेको बताए। श्रीलंकामा कम्युनिष्ट पृष्ठभूमिको दल सरकारमा पुगेको, अमेरिकाको न्यूयोर्कजस्तो पुँजीवादको केन्द्रमा समाजवादी विचारधाराका उम्मेदवारले सफलता हासिल गरेको तथा अमेरिका र युरोपका विभिन्न मुलुकमा वामपन्थी विचारप्रति आकर्षण बढिरहेको उनको तर्क थियो।

“समाजवादको भविष्य छैन भन्ने प्रचार गरिए पनि विश्वका विभिन्न ठाउँमा समाजवादी विचारले पुनः स्थान बनाइरहेको छ,” उनले भने, “त्यसैले नेपालमा समाजवादको बहस गर्न डराउनुपर्ने अवस्था छैन।”

‘जो लड्छ, जनताले उसैलाई विकल्प बनाउँछन्’

पुनले नेपालको राजनीतिक इतिहासमा परिवर्तन र बेथितिविरुद्ध संघर्ष गर्ने शक्तिलाई जनताले समर्थन गर्दै आएको उल्लेख गरे। ०१५ सालको निर्वाचनदेखि हालसम्मको राजनीतिक यात्रालाई स्मरण गर्दै उनले जनताले सधैं परिवर्तनको पक्षमा उभिने शक्तिलाई मत दिएको बताए।

उनका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुशासन र परिवर्तनको एजेन्डा उठाएकै कारण जनसमर्थन प्राप्त गरेको हो। “जो शक्तिका विरुद्धमा लड्छ, बेथितिका विरुद्धमा आवाज उठाउँछ, जनताले उसैलाई विकल्पका रूपमा स्वीकार गर्छन्,” उनले भने।

वर्तमान सरकारविरुद्ध संघर्ष गर्ने घोषणा

नेकपा अब विभेद, मनपरी, राष्ट्रियतामाथिको चुनौती, संवैधानिक अधिकारको कटौती तथा संसदलाई कमजोर बनाउने प्रवृत्तिविरुद्ध संघर्ष गर्ने तयारीमा रहेको पुनले बताए। उनले लोकतन्त्र, सामाजिक न्याय र समाजवादी परिवर्तनका पक्षमा आफूहरू दृढतापूर्वक उभिने उल्लेख गरे।

रास्वपाले सीमित संसदीय उपस्थितिका बाबजुद जनतामाझ प्रभाव विस्तार गर्न सफल भएको उदाहरण दिँदै पुनले नेकपाले पनि जनताका मुद्दामा संघर्ष गर्न सके व्यापक जनसमर्थन प्राप्त गर्न सक्ने दाबी गरे।

भर्चुअल लोकप्रियता दिगो नहुने टिप्पणी

पूर्वराजा ज्ञानेन्द्र शाहको शासनकाल स्मरण गर्दै पुनले जनताको समर्थन स्थायी नभएको इतिहासले देखाएको बताए। सामाजिक सञ्जाल वा भर्चुअल माध्यमबाट प्राप्त हुने लोकप्रियता दीर्घकालीन नहुने उल्लेख गर्दै उनले जनताको वास्तविक विश्वास जित्न व्यवहारिक काम र संघर्ष आवश्यक पर्ने धारणा राखे।

उनले लोकतन्त्र, गणतन्त्र, समावेशिता, धर्मनिरपेक्षता तथा सामाजिक न्यायजस्ता उपलब्धिको संरक्षण गर्दै समाजवादी आन्दोलनलाई पुनः सशक्त बनाउने दिशामा नेकपा अघि बढ्ने बताए।

सम्बन्धित समाचार

सबै