महाधिवेशनको तयारी तीव्र, रास्वपाले खर्च जुटाउन सदस्य र शुभेच्छुकको सहयोग लिने

0 Shares

काठमाडौं, असार ४ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी महाधिवेशनका लागि करिब चार करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ। बिहीबार बसेको पार्टी सचिवालय बैठकका निर्णय सार्वजनिक गर्दै महामन्त्री कविन्द्र बुर्लाकोटीले महाधिवेशनको खर्च प्रतिनिधिबाट उठाइने दर्ता शुल्क तथा पार्टीका सदस्य र शुभेच्छुकहरूबाट प्राप्त सहयोगबाट व्यवस्थापन गरिने जानकारी दिनुभयो।

उहाँका अनुसार महाधिवेशन व्यवस्थापनका लागि आवश्यक सेवा तथा सामग्री उपलब्ध गराउने विभिन्न सेवा प्रदायक संस्थाहरूसँग सहुलियतका विषयमा छलफल भइरहेको छ। कतिपय व्यवसायीहरूले नाफा नलिई लागत मूल्यमा सेवा उपलब्ध गराउने प्रस्तावसमेत गरेको उहाँको दाबी छ।

महामन्त्री बुर्लाकोटीले कार्यकर्ताको उत्साह र सहभागिता हेर्दा महाधिवेशनका लागि आवश्यक आर्थिक स्रोत सहजै जुट्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले महाधिवेशनमा करिब चार करोड रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएको बताउँदै त्यसको प्रमुख स्रोत प्रतिनिधि दर्ता शुल्क र पार्टी समर्थकहरूको सहयोग रहने स्पष्ट पार्नुभयो।

रास्वपाले यसपटक महाधिवेशनको निर्वाचन प्रक्रियामा विद्युतीय भोटिङ मेसिन (ईभीएम) प्रयोग गर्ने तयारी गरेको छ। यसका लागि आवश्यक कोटेशन तथा सम्झौताको प्रक्रिया अघि बढिसकेको पार्टीले जनाएको छ। ईभीएमको प्रयोगबाट मतदान तथा मतगणना प्रक्रिया ६ देखि ७ घण्टाभित्र सम्पन्न गर्न सकिने, समय बचत हुने तथा प्रतिनिधिहरूको बसाइ खर्चसमेत कम हुने अपेक्षा गरिएको छ।

पार्टीले महाधिवेशनको उद्घाटन समारोहमा अन्य राजनीतिक दलका शीर्ष नेताहरूलाई शुभकामना मन्तव्यका लागि आमन्त्रण गर्ने तयारी पनि गरेको जनाएको छ।

महाधिवेशनमा सहभागी हुन प्रतिनिधिहरूले आफ्नो साविकको पदअनुसारको लेबी अनिवार्य रूपमा तिरेको हुनुपर्ने व्यवस्था गरिएको छ। महाधिवेशनमा करिब दुई हजार पाँच सयदेखि तीन हजार प्रतिनिधिको सहभागिता रहने अनुमान गरिएको छ। प्रत्येक जिल्ला समितिले एक जना र प्रत्येक प्रदेश समितिले तीन जना पर्यवेक्षक पठाउन सक्नेछन्। साथै विदेशस्थित सम्पर्क समितिहरूबाट ३८ भन्दा बढी देशका करिब १७० प्रतिनिधि सहभागी हुने जनाइएको छ।

यसैबीच सचिवालय बैठकले पार्टीको विधान संशोधन गरी केन्द्रीय समितिलाई १५१ सदस्यीय बनाउने प्रस्ताव अघि बढाएको छ। प्रदेश समितिका सभापतिहरूलाई पदेन सदस्य रहने व्यवस्था गर्ने प्रस्तावसमेत तयार गरिएको जनाइएको छ।

बैठकमा सातै प्रदेशमा सम्पन्न अधिवेशनको समीक्षा गरिएको थियो। मधेस प्रदेशको अधिवेशन भने पार्टीको केन्द्रीय निर्वाचन आयोगले हाललाई स्थगित गरेको छ। बाँकी छ प्रदेशमा अधिवेशन सम्पन्न भइसकेको र अधिवेशन हुन बाँकी रहेका केही जिल्लाका विषयमा थप अध्ययनपछि निर्णय गरिने महामन्त्री बुर्लाकोटीले बताउनुभयो।

सचिवालय बैठकले पार्टीका सदस्यहरूलाई निर्वाचन आचारसंहिता तथा अनुशासनभित्र रहेर गतिविधि सञ्चालन गर्न निर्देशन दिएको छ। महाधिवेशनअघि आवश्यकताभन्दा बढी प्रचारप्रसार भएको निष्कर्ष निकाल्दै संयमित र मर्यादित व्यवहार गर्न आग्रह गरिएको छ।

रास्वपाले असार ६ गते साँझसम्म सम्पूर्ण तयारी पूरा गरी असार ७ गते चितवनमा महाधिवेशनको भव्य उद्घाटन गर्ने जनाएको छ। महाधिवेशनलाई पार्टीको आगामी राजनीतिक दिशा र संगठनात्मक संरचना तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

सम्बन्धित समाचार

सबै