पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय
0
Shares
काठमाडौं, जेठ ४ गते ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठकले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी लाई पार्टीको सदस्यता नविकरण गर्ने निर्णय गरेको छ ।
सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओली को अध्यक्षतामा भक्तपुरको गुण्डुस्थित निजी निवासमा बसेको बैठकले उक्त निर्णय गरेको एमाले उपमहासचिव लेखराज भट्ट ले जानकारी दिनुभयो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै भट्टले पूर्व राष्ट्रपति भण्डारीलाई एमालेको सदस्यता दिने निर्णय भएको बताउनुभयो । उहाँले एमाले सचिवालयको अर्को बैठक आगामी जेठ ८ गते बिहान साढे ११ बजे पुनः गुण्डुमै बस्ने जानकारी पनि दिनुभयो ।
बैठकमा महासचिव शङ्कर पोखरेल ले विभिन्न १० वटा एजेन्डा प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत एजेन्डामा पदाधिकारीहरूको वरियता निर्धारण सम्बन्धी प्रस्ताव, आम निर्वाचन २०८२ पछि गठित सरकारका कामकारबाहीको समीक्षा, सदस्यता नवीकरण तथा विस्तार अभियान, पदाधिकारी तथा सदस्यहरूको कार्यविभाजन लगायतका विषय समावेश रहेका छन् ।
यसैगरी, संविधान संशोधन सुझाव कार्यदल गठन, निर्वाचन समीक्षा प्रतिवेदन कार्यदल, पार्टी कार्यालय भवन निर्माण, केन्द्रीय कार्यालय सञ्चालन, नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको निर्देशक समिति गठन तथा सङ्गठन विभागका कामलाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा पनि छलफल भएको जनाइएको छ ।
एमालेले ती विषयमा आगामी सचिवालय बैठकमा विस्तृत छलफल गरी आवश्यक निर्णय गर्ने जनाएको छ ।