काठमाडौँ, जेठ १ गते । भारत सरकारले चिनी निर्यातमा प्रतिबन्ध लगाए पनि नेपालमा तत्काल त्यसको असर नपर्ने भएको छ । स्वदेशी उत्पादन, मौज्दात र आयातित चिनी पर्याप्त रहेकाले बजारमा तत्काल अभाव नहुने सरोकारवाला निकायले बताएका छन् ।
भारतीय सञ्चार माध्यमका अनुसार इन्धनको मूल्यवृद्धिसँगै खाद्यान्नको मूल्य बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै भारत सरकारले आगामी सन् २०२६ सेप्टेम्बर ३० सम्मका लागि चिनी निर्यातमा प्रतिबन्ध लगाएको हो । समाचार संस्था रोयटर्सका अनुसार भारतले चिनीलाई ‘निषेधित’ श्रेणीमा राखेको छ ।
यसअघि भारतले चालु सिजनमा १५ लाख ९० हजार टन चिनी निर्यात गर्न अनुमति दिएको थियो । तर आन्तरिक उत्पादनमा देखिएको अनिश्चितता र विश्व बजारमा देखिएको अस्थिरताका कारण भारतले आफ्नो नीति परिवर्तन गरेको बताइएको छ ।
नेपाल चिनी उत्पादक सङ्घका अनुसार नेपालमा हाल एक लाख ४१ हजार मेट्रिक टन चिनी मौज्दात रहेको छ । साथै व्यवसायीहरूले करिब ७० हजार टन चिनी आयात गरिसकेकाले बजारमा करिब दुई लाख टन चिनी उपलब्ध रहेको जनाइएको छ ।
सङ्घका अनुसार मुलुकमा वार्षिक करिब दुई लाख ८० हजार टन चिनी आवश्यक पर्ने गर्छ । आर्थिक वर्ष २०८२/८३ मा नेपालमा एक लाख ८७ हजार टन चिनी उत्पादन भएको छ । मागअनुसार उत्पादन कम भए पनि गत वर्षको मौज्दात रहेकाले तत्काल अभाव नहुने सङ्घको दाबी छ ।
सङ्घका अध्यक्ष शशिकान्त अग्रवालले १३ वटा चिनी उद्योगसँग पर्याप्त मौज्दात रहेको र आयातसमेत भइसकेकाले भारतको निर्णयले तत्काल असर नपर्ने बताउनुभयो । उहाँका अनुसार बजारमा हाल चिनीको मूल्य पनि स्थिर रहेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले पनि प्रतिबन्धको असर तत्काल नपर्ने स्पष्ट पार्नुभयो । उहाँले बजार अवस्थाबारे सरोकारवाला निकायसँग छलफल भइरहेको र आवश्यकता परे भारत सरकारसँग आयातका लागि पहल गर्ने वा अन्य मुलुकबाट आयात गर्ने विकल्पबारे विचार गरिने जानकारी दिनुभयो ।
अभावको हल्ला फैलाएर कृत्रिम मूल्यवृद्धि हुन सक्ने भएकाले बजार अनुगमनलाई प्रभावकारी बनाइने मन्त्रालयले जनाएको छ । साथै दीर्घकालीन रूपमा चिनीमा आत्मनिर्भर बन्न उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिइएको छ ।
सङ्घका अनुसार मूल्य अभिवृद्धि कर र ढुवानी खर्चबाहेक चिनीको फ्याक्ट्री मूल्य प्रतिकेजी ८२ रुपैयाँ रहेको छ भने बजारमा खुद्रा मूल्य प्रतिकेजी ११० रुपैयाँसम्म पुगेको छ । चिनी अभाव भए बिस्कुट, चकलेट, जुसलगायत उद्योगमा समेत असर पर्न सक्ने व्यवसायीहरूको भनाइ छ ।
हाल नेपालमा करिब १५ वटा चिनी उद्योग रहे पनि १३ वटा मात्र सञ्चालनमा रहेका छन् । चाडपर्वका समयमा चिनीको माग अन्य समयको तुलनामा बढी हुने गरेको छ ।