जबजकै मार्गदर्शनमा कम्युनिस्ट आन्दोलन अघि बढेको पूर्वराष्ट्रपति भण्डारीको दाबी

0 Shares

काठमाडौँ, वैशाख १४ गते । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ले नेपालका कम्युनिस्ट पार्टीहरू जनताको बहुदलीय जनवाद (जबज)को मार्गदर्शनमा अघि बढिरहेको बताउनुभएको छ ।

स्वर्गीय नेता मदन भण्डारी को ७५ औँ जन्मजयन्तिको अवसरमा सोमवार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उहाँले जबजले नेपालको कम्युनिस्ट आन्दोलनलाई संगठित र सशक्त बनाएको जिकिर गर्नुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले मदन भण्डारीलाई दूरदृष्टि भएको राष्ट्रवादी नेताका रूपमा स्मरण गर्दै उहाँको विचार, दर्शन र राजनीतिक योगदान आज पनि नेपाली जनजीवनमा जीवन्त रहेको बताउनुभयो । “उहाँलाई हामीले भौतिक रूपमा गुमाएको तीन दशकभन्दा बढी भइसके पनि वैचारिक, भावनात्मक र राजनीतिक रूपमा उहाँ अझै जीवित हुनुहुन्छ,” उहाँले भन्नुभयो ।

उहाँका अनुसार मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादले नेपालमा कम्युनिस्ट आन्दोलनलाई नयाँ दिशा दिएको छ र सोही मार्गदर्शनमा पार्टीहरू अगाडि बढिरहेका छन् ।

पूर्वराष्ट्रपति भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले) लाई मदन भण्डारीको विचारलाई देशव्यापी रूपमा सबै तह र कमिटीमार्फत कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । मुलुकको समृद्धि, सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि जबजको सिद्धान्तलाई व्यवहारमा उतार्नु आवश्यक रहेको उहाँको भनाइ थियो ।

उहाँले वर्तमान राजनीतिक सन्दर्भमा जबज अझ सान्दर्भिक रहेको उल्लेख गर्दै देशको आवश्यकता अनुसार यसको अध्ययन, विश्लेषण र कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । “संसारमा विभिन्न दर्शनहरू अभ्यासमा छन्, तर नेपालको सन्दर्भमा जबजलाई अझ परिष्कृत गर्दै अघि बढ्नुपर्छ,” उहाँले बताउनुभयो ।

कार्यक्रममा सामाजिक एकता, सद्भाव र राष्ट्र निर्माणसँग जोडिएका विषयहरू प्रस्तुत गरिएको उल्लेख गर्दै उहाँले जबजको आधारमा यी विषयहरूलाई समग्र रूपमा हेर्नुपर्ने धारणा राख्नुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले देशको वर्तमान अवस्थालाई ध्यानमा राख्दै जबजलाई व्यवहारिक रूपमा लागू गर्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

सम्बन्धित समाचार

सबै