काठमाडौं चैत्र १५ गते । भदौ २३–२४ गतेको जेन–जी आन्दोलनपछिका हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा हालसम्म ९४९ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

नेपाल प्रहरी का प्रवक्ता डिआइजी अबिनारायण काफ्ले का अनुसार आन्दोलनको आवरणमा भएका आगजनी, तोडफोड, लुटपाट तथा प्रहरीमाथि आक्रमणजस्ता घटनामा ७८७ मुद्दा दर्ता भइसकेका छन्। तीमध्ये ६५८ मुद्दा फर्स्योट भइसकेका छन् भने १२९ अझै अनुसन्धानको चरणमा छन्।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये २०७ जना पुर्पक्षका लागि थुनामा रहेका छन्। यस्तै ४७० जना धरौटीमा र २४३ जना हाजिरी–जमानीमा रिहा भएका छन् भने २१ जना साधारण तारेखमा छुटेका छन्। हाल ८ जना भने अझै हिरासतमा छन्।
जिल्ला अदालतबाट थुनामा पठाइएका १८ जना माथिल्लो अदालतको आदेशपछि धरौटीमा छुटेको पनि प्रहरीले जनाएको छ।
प्रहरीले सर्वोच्च अदालतमा आगजनी गर्ने, नेताहरूको घरमा लुटपाट गर्ने तथा प्रहरीका हतियार लुट्ने कार्यमा संलग्न व्यक्तिहरूलाई पनि पक्राउ गरी डकैती तथा हातहतियारसम्बन्धी मुद्दा चलाएको जनाएको छ।
यस्तै ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव तथा नैतिकताविरुद्धका कसुरमा पनि मुद्दा दायर गरिएको छ। केही आरोपी अझै फरार रहेकाले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
यसैबीच, सरकारले भदौ २४ गतेको घटनाको थप छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकले एक साताभित्र समिति गठन गरी घटनाको विस्तृत अध्ययन, विश्लेषण तथा जिम्मेवार पक्ष पहिचान गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ।
जेन–जी आन्दोलनपछि भएको हिंसात्मक घटनाको अनुसन्धान र कारबाही प्रक्रिया अझै जारी रहेको छ।
