काठमाडौं चैत्र १५ गते ।सरकारले तीन पूर्वप्रधानमन्त्रीसहित उच्च तहका राजनीतिक व्यक्तिहरूमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी छानबिन प्रक्रिया अघि बढाएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग ले पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि छानबिन सुरु गरेको हो।
यससँगै पूर्वमन्त्री तथा नेतृ आरजु राणा र पूर्वऊर्जामन्त्री दीपक खड्का लाई पनि सोही प्रकरणमा तानिएको छ।
स्रोतका अनुसार विभागले पाँचैजनालाई छानबिनका क्रममा उपस्थित हुन पत्र काटेको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी थप जानकारी आवश्यक रहेको जनाउँदै उनीहरूलाई विभागमा उपस्थित हुन भनिएको हो।
यसैक्रममा दीपक खड्का लाई प्रहरीले आइतबार बिहानै पक्राउ गरी अदालतमा म्याद थपका लागि पेश गरेको छ।
केपी शर्मा ओली भने यसअघि नै ‘जेन–जी’ आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ भई प्रहरी हिरासतमा रहेका छन्। यता शेरबहादुर देउवा र आरजु राणा हाल देशबाहिर रहेको जनाइएको छ। विभागले उनीहरूको ठेगानामा प्रहरीमार्फत पत्र पठाएको छ।
जेन–जी आन्दोलनका क्रममा बुढानीलकण्ठ स्थित देउवा निवासमा ठूलो मात्रामा नगद जलेको अवस्थामा फेला परेको आरोप छ। यस्तै आरोप अन्य नेताहरूका निवासमा पनि लाग्दै आएको छ।
यसअघि पनि उक्त विषयमा निरीक्षण तथा फरेन्सिक परीक्षण गरिएको भए पनि कारबाही प्रक्रिया अघि बढेको थिएन। तर नयाँ सरकार गठन भएसँगै छानबिनलाई तीव्रता दिइएको जनाइएको छ।
घटनाक्रमले देशको राजनीतिक वृत्तमा तरंग सिर्जना गरेको छ भने आगामी दिनमा थप कानुनी प्रक्रिया अघि बढ्ने संकेत देखिएको छ।
