पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रमेश लेखकलाइ आज अदालतमा उपस्थित गराइँदै

0 Shares

काठमाडौं, चैत १५ गते।  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक लाई आज (आइतबार) काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइँदै छ। दुवै नेतालाई शनिबार नेपाल प्रहरी ले नियन्त्रणमा लिएको हो।

गत भदौ २३–२४ गते ‘जेनजी’ आन्दोलनका क्रममा भएको हिंसात्मक घटनामा तीन जना प्रहरीसहित ७६ जनाको मृत्यु तथा हजारौँ घाइते भएपछि सो घटनाको छानबिनका लागि गठित गौरीबहादुर कार्की आयोग ले तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई जिम्मेवार ठहर गर्दै कारबाही सिफारिस गरेको थियो।

यसैबीच, बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै प्रहरीले दुवै नेतालाई पक्राउ गरेको हो। पक्राउअघि काठमाडौँ उपत्यकामा उच्च सुरक्षा सतर्कता अपनाइएको थियो भने भक्तपुर र गुण्डुस्थित निवास क्षेत्रमा बाक्लो प्रहरी परिचालन गरिएको थियो।

प्रहरीका अनुसार दुवै नेतालाई स्वास्थ्य परीक्षणपछि सुरक्षित स्थानमा राखिएको छ। नेपाल प्रहरी का प्रवक्ता डिआइजी अविनारायण काफ्लेले ज्यानसम्बन्धी कसुरमा अनुसन्धानका लागि अदालतबाट म्याद थप गरिने जानकारी दिनुभयो।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले भने आफ्ना अध्यक्ष ओलीको गिरफ्तारीको विरोध गर्दै तत्काल रिहाइको माग गरेको छ। पार्टीले यस कदमलाई लोकतन्त्र र कानुनी शासनविपरीत भएको आरोप लगाउँदै देशभर विरोध कार्यक्रमसमेत घोषणा गरेको छ।

यता पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ले पनि गिरफ्तारीप्रति असहमति जनाउँदै निर्णय पुनर्विचार गर्न सरकारसँग आग्रह गर्नुभएको छ।

मुलुकी अपराध संहिता, २०७४ अनुसार दुवै नेतामाथि लापरबाही तथा हेलचेक्‍र्याइँका कारण ज्यान गएको कसुरमा अनुसन्धान भइरहेको छ। अदालतको अनुमतिमा २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सकिने कानुनी व्यवस्था छ।

सरकारले यसलाई “न्यायको सुरुवात” भनेको छ भने विपक्षी दलहरूले “राजनीतिक प्रतिशोध” भन्दै विरोध जनाएका छन्। घटनाक्रमले मुलुकको राजनीति थप तातेको छ।

सम्बन्धित समाचार

सबै