काठमाडौं, फागुन २६ गते। निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साताभित्र राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी गरेको छ। आयोगका अनुसार प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक भइसकेको छ भने समानुपातिकतर्फको मतगणना कार्य अन्तिम चरणमा पुगेको छ।

गोरखापत्र अनलाइनसँग कुरा गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले समानुपातिकतर्फको मतगणना सम्भवतः आजै सकिने जानकारी दिनुभयो। उहाँले आयोगले आवश्यक प्रक्रिया पूरा गरेपछि चैत ५ देखि ७ गतेभित्र प्रतिनिधिसभा निर्वाचनको अन्तिम प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउने तयारी भइरहेको बताउनुभयो।
संवैधानिक प्रक्रिया सुरु हुने
निर्वाचन आयोगले अन्तिम प्रतिवेदन राष्ट्रपतिलाई बुझाएसँगै नयाँ सरकार गठनको प्रक्रिया औपचारिक रूपमा सुरु हुनेछ। नेपालको संविधानको धारा ९३ (१) अनुसार प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र राष्ट्रपतिले संघीय संसद्को अधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ।
यस्तै, संविधानको धारा ७६ अनुसार प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने संवैधानिक प्रावधान रहेको छ। यदि कुनै पनि दलको स्पष्ट बहुमत नभएमा दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत जुटाउन सक्ने प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्री नियुक्त गरिने व्यवस्था संविधानमा उल्लेख छ।

रास्वपाको प्रभावशाली विजय
यसपटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उल्लेखनीय सफलता हासिल गरेको छ। रास्वपाले प्रत्यक्षतर्फ १२५ स्थानमा विजय हासिल गरेको छ भने समानुपातिकतर्फ पनि ५० लाखभन्दा बढी मत प्राप्त गरिसकेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।
दुवै प्रणालीको अन्तिम परिणाम सार्वजनिक हुँदा रास्वपाले झण्डै दुई तिहाइ नजिक बहुमत प्राप्त गर्ने आकलन गरिएको छ। यस्तो अवस्थामा रास्वपाको नेतृत्वमा एकल सरकार बन्ने लगभग निश्चित भएको राजनीतिक विश्लेषकहरू बताउँछन्।
नयाँ सरकार गठनको बाटो खुल्ने
निर्वाचन आयोगले अन्तिम प्रतिवेदन पेस गरेपछि नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण, संसदीय दलको नेता चयन तथा सरकार गठनका लागि आवश्यक संवैधानिक प्रक्रिया अघि बढ्नेछ। यससँगै नयाँ प्रतिनिधिसभा र नयाँ सरकारमार्फत आगामी पाँच वर्षका लागि मुलुकको राजनीतिक दिशाबारे स्पष्टता आउने अपेक्षा गरिएको छ।














