काठमाडौँ १५ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले कृषि, उद्योग, पर्यटन र राष्ट्रिय एकताका क्षेत्रमा संरचनागत सुधार आवश्यक रहेको बताएका छन्। उनले फागुन २१ मा हुने निर्वाचनलाई परिवर्तनको अवसरका रूपमा चित्रण गर्दै मतदातालाई पार्टीको चुनाव चिह्न ‘घण्टी’मा मत दिन आग्रह गरे।

शुक्रबार चितवनमा आयोजित सभालाई सम्बोधन गर्दै शाहले किसानले उत्पादनको उचित मूल्य नपाउँदा दूध र तरकारीजस्ता वस्तु नष्ट गर्नुपर्ने बाध्यतामा पुग्ने अवस्था सिर्जना भएको उल्लेख गरे। बिचौलियाको नियन्त्रण, बाहिरबाट सहुलियत दरमा भित्रिने तरकारी तथा अव्यवस्थित बजार प्रणालीका कारण किसान मर्कामा परेको उनको भनाइ थियो। उत्पादन गर्ने किसान र उपभोक्ताबीचको दूरी घटाउन दीर्घकालीन नीतिगत सुधार आवश्यक रहेको उनले जोड दिए।
उनले वर्षायाममा खेर जाने विद्युत् ऊर्जाको सदुपयोग गर्दै देशका विभिन्न स्थानमा शीतभण्डार निर्माण गर्नुपर्ने प्रस्ताव राखे। सिजनमा सस्तो हुने तरकारी भण्डारण गरी अभावका बेला बिक्री गर्न सकिने व्यवस्था मिलाइए किसान र उपभोक्ता दुवैलाई फाइदा पुग्ने उनको तर्क थियो। “विद्युत् खेर फाल्ने होइन, उत्पादन, प्रशोधन र भण्डारणमा लगानी गर्नुपर्छ,” उनले भने।
चितवनको पर्यटन सम्भावनाबारे बोल्दै शाहले थारु समुदायको होमस्टे, स्थानीय संस्कृति र परिकारले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सक्ने बताए। स्थानीय परम्परा र खानपानले पर्यटनलाई जीवन्त बनाउने उल्लेख गर्दै उनले यस्ता पहिचानलाई प्रवर्द्धन गर्नुपर्ने धारणा राखे।
सरकारी स्वामित्वका उद्योगहरू आवश्यक उपकरण र जनशक्ति हुँदाहुँदै पनि पूर्ण क्षमतामा सञ्चालनमा नआउनु दुःखद रहेको भन्दै शाहले यस्ता उद्योगलाई व्यवस्थित रूपमा पुनःसञ्चालन गर्नुपर्ने बताए। हेटौंडा सिमेन्ट कारखानाजस्ता उद्योगहरू प्रभावकारी रूपमा चलाउन सके रोजगारी सिर्जना र आयात प्रतिस्थापनमा टेवा पुग्ने उनको भनाइ थियो।
विभिन्न जिल्लामा पुग्दा एउटै ठाउँमा देखिएको समस्या अर्को ठाउँमा समाधानको रूपमा प्रयोग गर्न सकिने अनुभव भएको उल्लेख गर्दै शाहले पार्टीले समस्या र समाधानलाई जोडेर अघि बढ्ने दाबी गरे। देशलाई टुक्राटुक्रा दृष्टिकोणबाट होइन, एकीकृत समाधानतर्फ अघि बढाउनुपर्ने उनको आग्रह थियो।
