काठमाण्डाै १२ फागुन । रुकुम पूर्वमा यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीकै क्रममा कर्मचारी व्यवस्थापनलाई लिएर असन्तुष्टि चुलिएको छ । शिक्षकहरूलाई पन्छाएर स्वास्थ्यकर्मीलाई प्राथमिकतामा राखिएको भन्दै पुथा उत्तरगंगा गाउँपालिकाका सहायक शिक्षा अधिकृत रामप्रसाद खड्काले आफूलाई दिइएको मतदान अधिकृतको जिम्मेवारी लिन अस्वीकार गरेका छन् ।

खड्काले जिल्ला निर्वाचन कार्यालयलाई पत्र बुझाउँदै भूमे गाउँपालिका–९ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, चुन्वाङका लागि तोकिएको मतदान अधिकृत पदबाट अलग हुने निर्णय सार्वजनिक गरेका हुन् । निर्वाचन व्यवस्थापनमा निर्वाचन आयोग ले शिक्षक समुदायलाई बेवास्ता गरेको उनको आरोप छ ।
उनका अनुसार समाजमा चेतना फैलाउने भूमिकामा रहेका शिक्षकहरूलाई योजनाबद्ध रूपमा छेउ लगाइनु पेसागत अपमान हो । “शिक्षकको भूमिकालाई अवमूल्यन गर्ने अभ्यासमा सहभागी हुन मनले मानेन,” उनले पत्रमा उल्लेख गरेका छन् ।
यसपटक जिल्लामा ठूलो संख्यामा स्वास्थ्यकर्मीलाई निर्वाचन कार्यमा परिचालन गर्ने निर्णय भएपछि शिक्षक र पत्रकार क्षेत्रका संघसंस्थाले आपत्ति जनाएका छन् । नेपाल शिक्षक महासंघ र नेपाल पत्रकार महासंघ रुकुम पूर्वले स्वास्थ्य सेवा प्रभावित हुने भन्दै स्वास्थ्यकर्मीलाई नियमित सेवामै खटाइनुपर्ने माग अघि सारेका छन् ।
यसअघि नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले निर्वाचन अवधिभर स्वास्थ्यकर्मीहरू सतर्क अवस्थामा रहनुपर्ने भन्दै उनीहरूलाई चुनावी जिम्मेवारी नदिन सुझावसहित पत्राचार गरेको थियो । तर जिल्लामा अन्य कर्मचारी उपलब्ध हुँदाहुँदै पनि स्वास्थ्यकर्मीलाई नै जिम्मेवारी दिइएपछि असन्तोष थपिएको हो ।

निर्वाचन नजिकिँदै गर्दा तोकिएका कर्मचारीले जिम्मेवारी नलिने अवस्था आएपछि जिल्ला निर्वाचन कार्यालय रुकुम पूर्वलाई वैकल्पिक व्यवस्थापनको दबाब बढेको छ । एकातिर मन्त्रालयको निर्देशन, अर्कोतिर शिक्षा क्षेत्रबाट उठेको विरोधका कारण कर्मचारी व्यवस्थापन जटिल बन्दै गएको छ ।
खड्काको कदमपछि अन्य शिक्षक तथा शिक्षा सेवाका कर्मचारीहरूले पनि असहमति जनाउन थालेका छन् । अब खाली भएको स्थानमा कसरी, कसलाई खटाउने भन्ने विषयमा जिल्ला निर्वाचन कार्यालयको निर्णयलाई जिल्लावासीले चासोका साथ हेरिरहेका छन् ।
