काठमाडौं पुस ११ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहबीचको राजनीतिक सहकार्य निर्णायक चरणमा प्रवेश गरेको छ । बिहीबार साढे दुई घण्टा लामो छलफलपछि दुवै नेताले सहकार्यका विभिन्न मोडालिटी तयार गर्न दोस्रो तहका नेताहरूलाई जिम्मेवारी दिएका छन् ।
ललितपुरको ज्वागलस्थित बालेनका प्रमुख सल्लाहकार कुमार बेनको निवासमा भएको भेटमा नयाँ र वैकल्पिक शक्तिबीच समायोजन, आसन्न प्रतिनिधिसभा निर्वाचनमा सिट बाँडफाँट र सम्भावित सत्ता सहकार्यसम्मका विषयमा प्रारम्भिक सहमति बनेको बताइएको छ । मोडालिटी तयार गर्न रास्वपाको तर्फबाट शिशिर खनाल र बालेनको तर्फबाट कुमार बेनलगायतलाई जिम्मेवारी दिइएको छ ।
रास्वपाका एक नेताका अनुसार दोस्रो तहबाट ठोस खाका आएपछि मात्रै पावर सेयरिङलगायत विषयमा निर्णय हुनेछ । ‘मिलेरै अगाडि बढ्नेमा दुवै नेताबीच द्विविधा छैन,’ ती नेताले भने ।
रास्वपा नेता शिशिर खनालले सहकार्यको मोडेल टुंग्याउन पार्टीभित्र छलफल सुरु भइसकेको बताए । ‘दुवै पक्षबाट विकल्पसहितको संयुक्त खाका शीर्ष तहमा बुझाइनेछ,’ उनले भने ।
यसबीच, बालेन शाहले नयाँ र वैकल्पिक शक्ति एक ठाउँमा ल्याउने प्रयासलाई तीव्र बनाएका छन् । उनले बिहीबार रवि लामिछानेसँगै ऊर्जा मन्त्री कुलमान घिसिङ, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वसांसदहरू, जेन–जी अगुवा र विभिन्न क्षेत्रका व्यक्तित्वसँग म्याराथन छलफल गरेका छन् । आगामी निर्वाचनको समयसीमा नजिकिँदै जाँदा उनले सहकार्यको दायरा फराकिलो बनाउँदै लगेका हुन् ।
बालेनसँगको भेटपछि डा. बाबुराम भट्टराईले सबै नयाँ र वैकल्पिक शक्ति मिल्नुपर्ने सुझाव दिएका छन् । उता, ऊर्जा मन्त्री कुलमान घिसिङले पनि जनताको चाहनाअनुसार नयाँ शक्तिहरू एक भएर देशलाई परिवर्तनको दिशातर्फ लैजानुपर्ने धारणा व्यक्त गरेका छन् ।
रवि–बालेनबीचको सहकार्यले जेन–जी आन्दोलनबाट उठेको परिवर्तनको चाहनालाई संस्थागत रूप दिने अपेक्षा गरिएको छ । दोस्रो तहबाट मोडालिटीको खाका तयार भएपछि दुवै नेता पुनः निर्णायक वार्तामा बस्ने तयारीमा छन् ।













