निर्वाचन सुरक्षा तयारी : १ लाख ३६ हजार म्यादी प्रहरी

0 Shares

काठमाडौँ, पुस ९ । आगामी फागुन २१ गते तय भएको प्रतिनिधि सभा निर्वाचनको सुरक्षाका लागि एक लाख ३६ हजारभन्दा बढी म्यादी (अस्थायी) प्रहरी भर्ना गरिने भएको छ ।

‘प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ कार्ययोजना’ अनुसार प्रहरी प्रधान कार्यालयले निर्वाचन सुरक्षामा आवश्यक जनशक्ति पूर्तिका लागि म्यादी प्रहरी भर्ना कार्यविधि तयार गरी गृह मन्त्रालयमा पेस गर्ने तयारी गरेको छ । मसौदा कार्यविधिअनुसार ४० दिनका लागि एक लाख ३६ हजार ८११ जना म्यादी प्रहरी भर्ना गर्ने योजना छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अबिनारायण काफ्लेले निर्वाचन अवधिमा नेपाल प्रहरीबाट ७७ हजार ७७ जना प्रत्यक्ष रूपमा परिचालन हुने र त्यसबाट अपुग हुने जनशक्ति म्यादी प्रहरीमार्फत पूर्ति गरिने बताउनुभयो ।

म्यादी प्रहरीलाई निर्वाचनअघि, निर्वाचनको अवधि र निर्वाचनपछि परिचालन गरिनेछ । उनीहरूले प्रहरी सिपाही सरहको तलब सुविधा, भौगोलिक अवस्थाअनुसार पोसाक, दैनिक रासन, खाजा भत्ता तथा भ्रमण भत्तासमेत पाउनेछन् ।

निर्वाचन आयोगको प्रारम्भिक आकलनअनुसार देशभर प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रका १० हजार ९६७ मतदान स्थल रहनेछन् । सोही आधारमा प्रहरी प्रधान कार्यालयले आवश्यक सुरक्षा जनशक्ति व्यवस्थापनको तयारी गरेको हो । तयार पारिएको म्यादी प्रहरी भर्ना कार्यविधि कानुन शाखाबाट थप अध्ययन र परिमार्जनपछि गृह मन्त्रालयमा निर्णयका लागि पेस गरिनेछ ।

गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले पनि निर्वाचन सुरक्षाका लागि थप जनशक्ति आवश्यक रहेको निष्कर्षसहित म्यादी प्रहरी भर्ना गर्ने निर्णय गरेको छ । बैठकमा गृहमन्त्री अर्याल, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका आइजीपी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की तथा सैनिक अधिकारीहरूको उपस्थिति थियो ।

बैठकले निर्वाचनअघि, निर्वाचनको अवधि र निर्वाचनपछिको सुरक्षा अवस्थाबारे छलफल गर्दै सोहीअनुसार सुरक्षा रणनीति अपनाउने निर्णय गरेको छ । निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनालाई तीन घेरामा परिचालन गरिनेछ । पहिलो घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल र तेस्रो घेरामा नेपाली सेना तैनाथ गरिने व्यवस्था गरिएको छ ।

नेपाली सेनाले निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आन्तरिक तथा एकीकृत सुरक्षा योजनाअनुसार आफ्ना मातहतका निकाय परिचालन गरिसकेको जनाएको छ ।

यसैबीच नेपाल प्रहरीले कार्य विभाग प्रमुख उमाप्रसाद चतुर्वेदीको संयोजकत्वमा १५१ सदस्यीय केन्द्रीय सुरक्षा सेल गठन गरी पूर्वतयारी सुरु गरेको छ । प्रदेश प्रहरी प्रमुख डिआइजीको नेतृत्वमा प्रदेश निर्वाचन सेल र जिल्ला प्रहरी प्रमुखको नेतृत्वमा जिल्ला निर्वाचन सेल गठन भइसकेको छ ।

सशस्त्र प्रहरी बलले पनि केन्द्रीय, बाहिनी, गण र गुल्म तहमा निर्वाचन सुरक्षा सेल गठन गरी तयारी तीव्र पारेको जनाएको छ ।

केन्द्रीय सुरक्षा समितिले वर्तमान सुरक्षा अवस्था र सम्भावित चुनौतीको विश्लेषण गर्दै निर्वाचनमा भाग नलिने समूह, फरार कैदी तथा जेनजी आन्दोलनका क्रममा लुटिएका हतियारबारे विशेष निगरानी आवश्यक रहेको औँल्याएको छ । निर्वाचन सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई संयुक्त रूपमा परिचालन गर्न एकीकृत निर्वाचन सुरक्षा योजना अनुसार तयारी भइरहेको गृह मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

सबै