पोखरेलले बोलाए आफूपक्षीय भेला, ‘मुद्दा मर्दैनन्, अभियान जारी रहन्छ’

0 Shares

 काठमाडौं ६ पुस । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएका नेता ईश्वर पोखरेलले महाधिवेशनपछि आफ्नो पक्षीय नेता–कार्यकर्ताको भेला आयोजना गर्दै आगामी रणनीतिबारे स्पष्ट सन्देश दिएका छन् । शनिबार काठमाडौंमा आयोजित भेलामा महाधिवेशनमा पोखरेल प्यानलबाट उम्मेदवार बनेका नेताहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

महाधिवेशन सम्पन्न भई प्रतिनिधिहरू आ–आफ्नो जिल्लातर्फ फर्कने तयारीमा रहेका बेला पोखरेलले जिल्ला र प्रदेशस्तरमा विभिन्न फोरमहरू आयोजना गर्न निर्देशन दिएका छन् । त्यस्ता फोरममा आफूलाई पनि बोलाउन र सकेसम्म उपस्थित हुने प्रतिबद्धता उनले जनाए ।

‘अब हामीहरूले जिल्ला र प्रदेशस्तरमा विभिन्न फोरमहरू आयोजना गर्नुपर्छ । ती छलफलमा म पनि सहभागी हुन्छु, तपाईंहरूले सम्झनुस्,’ पोखरेलले भेलामा सहभागी नेताहरूलाई भने ।

महाधिवेशनमा उठाइएका मुद्दाबाट पछि नहट्ने स्पष्ट संकेत दिँदै पोखरेलले ती मुद्दाहरू अझै जीवित रहेको दाबी गरे । ‘महाधिवेशन सम्पन्न भएको छ । समीक्षा गर्नुपर्ने विषय छन् । तर, जुन मुद्दा लिएर हामी अघि बढ्यौं, ती मुद्दाहरू मर्दैनन्,’ उनले भने, ‘ती मुद्दाहरू सफल नहुन्जेल हाम्रो अभियान निरन्तर चलिरहनेछ ।’

आजको भेला महाधिवेशनपछिको रणनीति तय गर्न, तल्ला कमिटीहरूमा कसरी फोरम बनाउने भन्ने विषय स्पष्ट पार्न आयोजना गरिएको पोखरेलको भनाइ छ । ‘अब कसरी अघि बढ्ने भन्ने जिज्ञासा थियो, त्यसलाई मेटाउन यो भेला बोलाइएको हो,’ उनले बताए ।

उनले यो गतिविधिलाई पार्टी विभाजनको रूपमा नबुझ्न नेता–कार्यकर्तालाई आग्रह गरे । ‘यो विभाजनको कुरा होइन । हामी विभाजनको विपक्षमा छौं । तर, गलत समर्पण स्वीकार्य छैन,’ पोखरेलले भने, ‘सही विचारका लागि लडाइँ जारी रहन्छ ।’

पोखरेलले पार्टीभित्र केही ‘डरलाग्दा’ प्रवृत्ति देखिन थालेको भन्दै चिन्ता व्यक्त गरे । ‘म नभइ पार्टी चल्दैन भन्ने सोच निकै डरलाग्दो हो,’ उनले भने, ‘यस्ता सोचबाट पार्टीलाई कसरी जोगाउने भन्ने नै आजको चुनौती हो ।’

पार्टीभित्र विचार र व्यवहार फरक–फरक हुन खोजेको भन्दै उनले एमालेलाई भीडमा होइन, शक्तिमा रूपान्तरण गर्नुपर्ने धारणा राखे । ‘विचार एउटा र व्यवहार अर्कै भयो भने विसंगति जन्मिन्छ,’ उनले भने, ‘एमाले व्यवस्थित विचार भएको पार्टी हो, तर व्यवहारले त्यो पुष्टि गर्नुपर्छ ।’

आफू कहिल्यै गल्ती नगर्ने र प्रश्न उठाउनेहरू गलत हुन् भन्ने भाष्य पार्टीमा स्थापित हुन नहुने पोखरेलको भनाइ छ । ‘मान्छेबाट कमजोरी हुन्छन्, स्वीकार्नुपर्छ,’ उनले भने, ‘तर म कहिल्यै गल्ती गर्दिनँ भन्ने अहंकार पार्टीका लागि दुर्भाग्य हुन्छ । आज हामी त्यही दुर्भाग्य भोगिरहेका छौं ।’

पोखरेलको भेलालाई महाधिवेशनपछिको आन्तरिक राजनीतिक सन्तुलन र पार्टीभित्र वैचारिक बहसलाई निरन्तरता दिने प्रयासका रूपमा हेरिएको छ ।

सम्बन्धित समाचार

सबै