सुप्रिम सहकारी मुद्दा : रवि लामिछाने धरौटीमा रिहा

0 Shares

बुटवल  पाैष ४ गते  । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आठ महिनापछि रिहा भएका छन्। कुल तीन करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक जमानत बुझाएपछि शुक्रबार उनी रुपन्देही कारागारबाट थुनामुक्त भएका हुन्।

जिल्ला अदालत रुपन्देहीले १३ माघ २०८१ मा माग गरेको धरौटीअनुसार प्रतिवादीका तर्फबाट पेस गरिएको बैंक जमानत अदालतमा बुझाएपछि लामिछानेको रिहाइ प्रक्रिया पूरा भएको हो। अदालतले तोकेको रकम बुझाएसँगै आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनलाई कारागार प्रशासनले मुक्त गरेको जनाएको छ।

रिहाइपछि लामिछानेले रुपन्देहीमा अदालती औपचारिकता पूरा गरेका थिए। त्यसपछि उनी कार्यवाहक सभापति डिपी अर्याल लगायत रास्वपाका नेताहरूसँगै चितवन प्रस्थान गरेका छन्। रिहाइका क्रममा पार्टीका नेता–कार्यकर्ता र समर्थकहरू कारागार परिसरमा उपस्थित थिए।

सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेमाथि सहकारीको रकम दुरुपयोगसम्बन्धी आरोप लगाउँदै अनुसन्धान र अदालती कारबाही अघि बढाइएको थियो। उनी थुनामा परेपछि यो मुद्दा राजनीतिक र सार्वजनिक बहसको केन्द्रमा रहँदै आएको थियो।

लामिछानेको रिहाइसँगै यस प्रकरणको आगामी अदालती प्रक्रिया, सुनुवाइ र अन्तिम फैसलातर्फ सबैको चासो केन्द्रित भएको छ। रास्वपाले यसलाई कानुनी प्रक्रियाको सम्मानका रूपमा लिँदै सत्य र न्यायका लागि अन्तिमसम्म लड्ने बताउँदै आएको छ।

सम्बन्धित समाचार

सबै