निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको कार्यतालिका सार्वजनिक गर्यो

0 Shares

काठमाडौँ, कात्तिक ३० गते। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगले विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ। आयोगले माघ महिनाभरि मनोनयन दर्तादेखि उम्मेदवारको अन्तिम नामावली प्रकाशनसम्मका सबै प्रक्रिया स्पष्ट रुपमा तोकेको छ।

कार्यतालिका अनुसार माघ ६ गते उम्मेदवार मनोनयन दर्ता हुनेछ। बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयनपत्र दर्ता गरिनेछ भने त्यसपछि ५ बजेदेखि ७ बजेसम्म दर्ता भएका उम्मेदवारहरूको प्रारम्भिक सूची प्रकाशन हुनेछ।

आयोगले माघ ७ गते उम्मेदवारविरुद्ध उजुरी दिने मिति तोकेको छ। बिहान १० बजेदेखि ३ बजेसम्म उजुरी दर्ता गर्न सकिनेछ। दर्ता भएका उजुरीहरूको अध्ययन–जाँचपछि माघ ८ गते साँझ ५ देखि ७ बजेसम्म उम्मेदवारहरूको संशोधित नामावली प्रकाशित गरिने आयोगले जनाएको छ।

त्यसपछि, माघ ९ गते उम्मेदवारी फिर्ता दिन सकिनेछ। फिर्ता प्रक्रियाका लागि बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म समय तोकिएको छ। सोही दिन ३ बजेभित्र उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गर्दै चुनाव चिन्ह पनि वितरण गरिने आयोगले जनाएको छ।

निर्वाचन आयोगका अनुसार कार्यतालिका सार्वजनिक भएपछि अब चुनाव केन्द्रित सम्पूर्ण प्रक्रियाहरू तोकिएका मितिअनुसार अघि बढाइनेछ।

सम्बन्धित समाचार

सबै