काठमाडौँ, कात्तिक २६ गते । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै देशभर नयाँ मतदाता नामावली संकलन तीव्र गतिमा भइरहेको छ । मंगलबार राति ८ बजेसम्म निर्वाचन आयोगमा संकलित विवरणअनुसार नयाँ थपिएका मतदाताको संख्या २ लाख ९ हजार ५५२ पुगेको छ ।
मंगलबार मात्रै २३ हजार ६३८ जना नयाँ मतदाता थपिएका छन् । आयोगका अनुसार हालसम्म दर्ता भएका नयाँ मतदातामध्ये १ लाख २२ हजार ७४० जना पुरुष, ८६ हजार ७८५ जना महिला र २७ जना अन्य छन् ।
अन्तरिम सरकारले प्रतिनिधिसभा निर्वाचन मिति घोषणा गरेपछि आयोगले जेन–जी समूहलाई लक्षित गर्दै गत असोज ९ गतेदेखि मतदाता नामावली संकलन सुरु गरेको हो । यो अभियान कात्तिक ३० गतेसम्म जारी रहनेछ ।
आयोगका अनुसार १८ वर्ष उमेर पूरा गरेका र नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका नागरिकहरूले प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरूमा गएर नाम दर्ता गर्न सक्नेछन् । सार्वजनिक बिदा बाहेक हरेक दिन बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म सेवा सञ्चालन भइरहेको छ ।
कानुनअनुसार मतदाता बन्न योग्यता पुगेका नेपाली नागरिकहरूले नयाँ नाम दर्ता गर्नुका साथै बसाइँ सराइ भएका वा विवाह भएर अन्यत्र गएका व्यक्तिहरूले आफ्नो मतदाता नामावली स्थानान्तरण गर्न सक्नेछन् । साथै, नामावलीमा त्रुटि देखिएमा सच्याउने सुविधा पनि दिइएको छ ।
नाम दर्ता स्थलहरूमा देखिएको सेवाग्राहीको भीड व्यवस्थापन गर्न आयोगले उच्च चाप भएका जिल्लाहरूमा दैनिक सेवा समय १२ घण्टासम्म बढाएको छ । दैनिक ८०० भन्दा बढी नाम दर्ता भइरहेका जिल्लाहरूमा ६/६ घण्टाका दुई सिफ्टमा सेवा दिने व्यवस्था गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट थप १४ जना दर्ता कर्मचारी खटाइएका छन् । अन्य जिल्लामा पनि सेवाग्राहीको चापका आधारमा थप जनशक्ति खटाउन गृह मन्त्रालयसँग पत्राचार गरिएको आयोगले जनाएको छ ।
आयोगका अनुसार आगामी निर्वाचनमा विशेषगरी पहिलोपटक मतदान गर्ने युवाहरूलाई समेट्ने उद्देश्यले यो अभियानलाई ‘समावेशी र पहुँचमैत्री’ बनाउन विशेष तयारी भइरहेको छ ।