अशोक राई र भीम रावललाई समायोजन गर्ने गृहकार्यमा ने.क.पा

0 Shares

काठमाडौं, कात्तिक २३ गते ।  १० वाम दल–समूह मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) अन्य वाम घटक र समूहलाई पनि समायोजन गर्ने गृहकार्यमा जुटेको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपाल विभिन्न वामपन्थी पार्टी, समूह र स्वतन्त्र नेताहरूसँग निरन्तर संवादमा छन् ।

पार्टी स्रोतका अनुसार, अशोक राई नेतृत्वको जसपा,  भीम रावल, र केन्द्रीय सल्लाहकार यदुवंश झासँग छलफल अगाडि बढाइएको छ । ती नेताहरूले पनि सकारात्मक संकेत दिएका बताइन्छ । जसपाले त एकता सम्भावना अध्ययनका लागि कार्यदल नै गठन गरेको छ । उक्त कार्यदलको संयोजकत्वमा संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठ रहेका छन् । सहअध्यक्ष रेणु यादव, उपाध्यक्ष रनध्वज कन्दङ्वा र परशुराम बस्नेत, महासचिव मोहमद इस्तियाक राई सदस्य छन् ।

श्रेष्ठका अनुसार नीति, सिद्धान्त र कार्यक्रम मिल्ने दलबीच एकता वा सहकार्य सम्भव छ । उनले भने, “जेन–जी आन्दोलनपछि देश राजनीतिक पुनर्संरचना र ध्रुवीकरणको दिशामा छ । यस्तो अवस्थामा एउटै दलले अलग यात्रा गर्नुभन्दा नीति–सिद्धान्त मिल्ने दलसँग एकता गर्नुपर्छ ।”

त्यस्तै, एमालेका पूर्वउपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री भीम रावलसँग पनि नेकपाका शीर्ष नेताहरूले निरन्तर सम्पर्क राखेका छन् । रावलले आफू दस्तावेज अध्ययन गर्दै पार्टीका साथीहरूसँग परामर्शमा रहेको बताएका छन् । उनले भने, “देशभित्र र बाहिर रहेका सहकर्मीहरूसँग म छलफलमा छु । एकताको विषयमा गम्भीर अध्ययन भइरहेको छ ।”

उता, एमालेका केन्द्रीय सल्लाहकार यदुवंश झाले भने नयाँ पार्टीमा समाहित हुने तयारी पूरा गरेको बताइएको छ । सह–संयोजक माधव नेपालसँगको भेटमा झाले एमाले परित्याग गरी नयाँ नेकपामा आबद्ध हुने सहमति जनाएका छन् ।

नेपाली कम्युनिस्ट पार्टीका नेता राजेन्द्र पाण्डेले विचार र दृष्टिकोण मिल्ने सबै वाम समूहलाई पार्टीमा समेट्ने रणनीति अघि बढाइएको बताए । उनका अनुसार, “हामी बृहत् वाम ध्रुवीकरणको पक्षमा छौँ । विभिन्न दल, समूह र नेताहरूसँग चरणबद्ध संवाद भइरहेको छ ।”

यसैबीच, एमालेका पूर्वकेन्द्रीय सदस्य तथा मुगु खत्याड गाउँपालिकाका पूर्वअध्यक्ष उब्जनबहादुर शाहीले बिहीबार औपचारिक रूपमा नयाँ नेकपामा प्रवेश गरेका छन् । पार्टीले यो प्रवेशलाई वाम एकताको अर्को महत्वपूर्ण संकेतका रूपमा लिएको छ ।

नेकपाले अबका दिनमा अन्य समाजवादी, प्रगतिशील र वामपन्थी धारका नेताहरूसँग पनि सहकार्य र एकताको प्रयास विस्तार गर्ने जनाएको छ । प्रचण्ड–नेपाल नेतृत्वको यो नयाँ पहल वाम राजनीतिमा नयाँ ध्रुवीकरण र पुनर्संरचनाको संकेतका रूपमा हेरिएको छ ।

सम्बन्धित समाचार

सबै