काठमाडौं २० कात्तिक। देशभरका १० वामपन्थी दल र समूह एकीकृत भई नयाँ राजनीतिक शक्ति “नेपाली कम्युनिस्ट पार्टी (नेकपा)” गठन गरिएको छ । बुधबार राजधानीको भृकुटीमण्डपमा सम्पन्न एकता राष्ट्रिय सम्मेलनमार्फत नयाँ पार्टीको घोषणा गरिएको हो ।
नवगठित नेकपाको संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजकमा माधवकुमार नेपाल चयन भएका छन् । पूर्वप्रधानमन्त्री झलनाथ खनाल तेस्रो वरीयतामा रहँदै नेतृत्व संरचनामा प्रवेश गरेका छन् । नयाँ पार्टीको चुनाव चिह्न “तारा” तोकिएको छ ।
एकतामा सहभागी दलहरूमा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी, नेकपा (समाजवादी), नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी–समाजवादी), नेकपा (साम्यवादी), माओवादी कम्युनिस्ट केन्द्र र देशभक्त समाजवादी मोर्चा रहेका छन् । सम्मेलनले अन्तरिम विधान, घोषणापत्र र संगठनात्मक ढाँचा सर्वसम्मतिले पारित गरेको छ ।
नयाँ पार्टीका संयोजक प्रचण्ड र सह–संयोजक माधव नेपालले एकतालाई ऐतिहासिक कदमको रूपमा व्याख्या गर्दै देशकै सबैभन्दा ठुलो राजनीतिक शक्ति बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रचण्डले भने, “अब नेपालमा नेकपालाई देशको नम्बर एक पार्टी बन्न कसैले रोक्न सक्दैन । यो जनताको पार्टी हुनेछ ।”
उनले हाल देखिएको राजनीतिक संकट र जनगुनासोलाई सम्बोधन गर्न नयाँ पार्टी जनताको बीचमा जाने तयारीमा रहेको पनि बताए । प्रचण्डले भने, “यो असाधारण एकता हो । १० घटक एक ठाउँमा आउनु नेपाली कम्युनिस्ट आन्दोलनको नयाँ अध्याय हो । हामी अझै विचार मिल्नेहरूसँग पनि एकता प्रक्रिया अघि बढाउनेछौँ ।”
संयोजक प्रचण्डले जेन–जी आन्दोलनले वाम शक्तिलाई एउटै धारमा ल्याउन भूमिका खेलेको स्वीकार गर्दै नयाँ पार्टी जन–भावनाअनुसार अघि बढ्ने बताए । उनले लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि समाजवादी मोर्चा, एमाले र कांग्रेससम्मसँग पनि सहकार्य गर्न सकिने संकेत गरे ।
सह–संयोजक माधवकुमार नेपालले लामो गृहकार्यपछि पार्टी एकता सम्भव भएको भन्दै यो कदमले कम्युनिस्ट आन्दोलनलाई पुनर्जीवन दिने बताए । उनका अनुसार, “नेकपाकालका ९ शीर्ष नेतामध्ये ५ जना यहीँ छौँ । त्यसैले कम्युनिस्ट आन्दोलनको मूल प्रवाह यही हो ।”
एकता सम्मेलनले २३ बुँदे प्रतिबद्धता पत्र र नौबुँदे प्रस्ताव पारित गरेको छ । घोषणापत्रमा विगतका कमजोरी सच्याउँदै कार्यशैलीमा रूपान्तरण र जनताप्रति जवाफदेहीता सुनिश्चित गर्ने अठोट गरिएको छ ।
पार्टीले उच्चस्तरीय सम्पत्ति जाँचबुझ आयोग गठन गरी विगतमा सार्वजनिक पद धारण गरेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्ने र भ्रष्टाचारमा संलग्नहरूलाई कठोर कारबाही गर्ने घोषणा गरेको छ । साथै, सुशासन, पारदर्शिता, सामाजिक न्याय र जनसेवा प्रभावकारी बनाउने वाचा पनि गरेको छ ।
शिक्षा, स्वास्थ्यलगायतका सेवा आमजनतामा सहज रूपमा पुगोस् भन्ने उद्देश्यसहित राज्य संयन्त्र सुधारको घोषणा गरिएको छ ।
पूर्वप्रधानमन्त्री झलनाथ खनाल अन्तिम समयमा एकता प्रक्रियामा सहभागी भएका हुन् । प्रारम्भिक चरणमा उनले एमालेमा फर्किनका लागि चारबुँदे सर्त राखेका थिए — माक्र्सवाद–लेनिनवादलाई मार्गदर्शक मान्ने, समाजवादी क्रान्तिको स्पष्ट कार्यदिशा हुने, समाजवादी कार्यक्रममा एकमत हुने र जबज त्याग्ने । तर, एमाले अध्यक्ष ओली ती सर्तहरूमा सहमत नभएपछि खनाल प्रचण्ड–माधव पक्षसँग जोडिएका हुन् ।
खनालले आफ्नो ‘रिजर्भेसन’ रहेको जनाउँदै पनि एकता प्रक्रियामा सहभागी भएको बताए । उनले भने, “केही विमति भए पनि एकताको विकल्प छैन । मैले विश्वासका आधारमा एकतामा साथ दिएको छु ।”
प्रचण्डले खनालका सर्तहरू सम्बोधन गर्ने आश्वासन दिएका थिए । अन्ततः बुधबार बिहान प्रचण्डसँगको छलफलपछि खनालले एकता सम्मेलनमा सहभागिता जनाए ।
एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल भने नयाँ पार्टीमा सामेल भएनन् । उनले पार्टी पुनर्गठन अभियान घोषणा गर्दै मंसिर पहिलो साता राष्ट्रिय भेला बोलाएका छन् । उक्त भेलाबाट नयाँ कार्ययोजना तय गरिने उनको भनाइ छ ।
भुसालसँगै डा. विजय पौडेल, जीवनराम श्रेष्ठ र सुष्मा राईलगायत नेताहरू पनि पुनर्गठन अभियानमा रहेका छन् ।
त्यसैगरी, एकता अस्वीकार गर्दै रामकुमारी झाँक्री र कृष्णकुमार श्रेष्ठ ‘किसान’ नेतृत्वको समूह एमालेमा फर्किने तयारीमा छ । बुधबारै पत्रकार सम्मेलन गरेर उनीहरूले यसबारे औपचारिक जानकारी दिएका छन् ।
१० वाम घटकको एकताबाट जन्मिएको नयाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले देशको राजनीतिक परिदृश्यमा नयाँ अध्याय खोलेको छ । प्रचण्ड र माधवको नेतृत्वमा बनेको यो एकीकृत दलले आफूलाई गणतन्त्र, सुशासन र सामाजिक न्यायको पक्षधर राजनीतिक शक्तिका रूपमा प्रस्तुत गरेको छ ।
तर, पार्टीभित्रका मतभेद, वैचारिक असमझदारी र भविष्यमा हुने संगठनात्मक समायोजन कसरी व्यवस्थापन गरिन्छ, त्यो नै नयाँ नेकपाको स्थायित्वको मुख्य चुनौती बन्ने देखिन्छ ।