काठमाडौं, १६ कात्तिक । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहित आठ वामपन्थी दल–समूहबीच पार्टी एकताका लागि १८ बुँदे सहमति भएको छ। आइतबार राजधानीमा बसेको संयुक्त बैठकपछि शीर्ष नेताहरूले सहमति–पत्रमा हस्ताक्षर गर्दै वाम एकताको नयाँ अध्याय सुरु गरेका हुन्।
सहमति–पत्रमा नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव, नेकपा (समाजवादी)का अध्यक्ष राजु कार्की, नेकपाका महासचिव चिरन पुन, जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुवासराज काफ्ले, नेकपा (माओवादी समाजवादी)का अध्यक्ष कर्णजित बुढाथोकी र नेकपा साम्यवादीका अध्यक्ष प्रेमबहादुर सिंहले हस्ताक्षर गरेका छन्।
सहमति–पत्रमा पार्टीको मूल मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवाद रहने स्पष्ट गरिएको छ। एकता प्रक्रियालाई संस्थागत गर्न आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने सहमति पनि पत्रमा उल्लेख गरिएको छ। नयाँ बन्ने पार्टीको नाम तत्काल सार्वजनिक नगर्ने सहमति भए पनि, चुनाव चिन्हका रूपमा पाँचकुने तारालाई कायम राख्ने निर्णय गरिएको छ।
नेताहरूका अनुसार यो सहमति वामपन्थी एकताको दीर्घकालीन प्रयासलाई व्यवहारिक चरणमा पुर्याउने महत्वपूर्ण कदम हो। सहमतिपत्रमा वैचारिक एकता, संगठनात्मक समायोजन, जनसंगठनहरूको एकीकरण, नीति तथा कार्यक्रमको समन्वय, र राष्ट्रिय स्वाधीनता तथा समाजवाद उन्मुख जनजीविकाका सवालमा साझा कार्ययोजना अघि बढाउने उल्लेख छ।
स्रोतहरूका भनाइअनुसार, अब एकता कार्यान्वयनका लागि कार्यदल गठन गरी विस्तृत कार्ययोजना तयार गरिनेछ। माओवादी केन्द्र र समाजवादी दलबीच लामो समयदेखि चल्दै आएको एकता वार्ता यो सहमतिपछि निर्णायक चरणमा पुगेको नेताहरूको दाबी छ।
पार्टीहरूका नेताहरूले संयुक्त रूपमा जारी गरेको वक्तव्यमा भनिएको छ, “वाम एकता केवल दलगत सञ्जालको विस्तार होइन, यो जनताको अधिकार, सामाजिक न्याय र आर्थिक रूपान्तरणको साझा अभियान हो।”
यो सहमति कार्यान्वयन भएमा देशको वामपन्थी राजनीतिमा ठूलो पुनर्संरचना हुने विश्लेषकहरूको बुझाइ छ













