पूर्वसभामुख कृष्णबहादुर महरा पुर्पक्षका लागि थुनामा

0 Shares

काठमाडौं २९ असोज । पूर्वसभामुख कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। अदालतको आदेशपछि उनलाई सुन्धारास्थित केन्द्रीय कारागार, जगन्नाथदेवल शाखामा पठाइएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिएका छन्।

मंगलबार र बुधबार गरिएको बयान तथा थुनछेक बहसपछि अदालतले महरालाई थुनामा पठाउने आदेश जारी गरेको हो। उनीविरुद्ध करिब ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बिगो र तीन वर्षभन्दा बढी कैद सजायको माग दाबी गरिएको थियो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले महरालाई गत आइतबार पक्राउ गरेको थियो। उनीमाथि विमानस्थल भन्सार कार्यालयमा रोकिएको सुन तस्करी प्रकरणमा प्रभाव प्रयोग गरी पक्राउ परेका व्यक्तिहरूलाई जोगाउने र सामान छुटाउने दबाब दिएको आरोप छ।

घटना सन् २०२३ (२०७९ पुस १०) मा फ्लाई दुबईको उडान नम्बर एफजेट ०५८७ बाट काठमाडौं आएका चिनियाँ राहदानीधारी लि हानसोङसँग सम्बन्धित हो। उनको दुईवटा सुटकेसमा ‘भेप’ (विद्युतीय चुरोट) भेटिएपछि विमानस्थल भन्सारले नियन्त्रणमा लिएको थियो। त्यसपछि हानसोङले आफ्नो पासपोर्ट फिर्ता लिएर नेपाल छाडेका थिए, तर भेप भने भन्सारमै थन्किएको थियो।

पछिल्लो अनुसन्धानमा भेप साटिएको शंका लागेपछि २६ वैशाख २०८० मा भन्सार विभागले सीआईबीलाई अनुसन्धानको अनुरोध गरेको थियो। दुई महिनासम्म गरिएको अनुसन्धानपछि सीआईबीले करिब ९ किलो सुन तस्करी भएको निष्कर्ष निकाल्दै भन्सारका नासु रेवन्त खड्कासहित छ जना विरुद्ध मुद्दा दायर गरेको थियो।

पूरक अभियोगमा चिनियाँ मूलका बेल्जियम नागरिक दावा छिरिङ, उनका चालक लोकेन्द्र पौडेल, राहुल महरा र नीमा गुरुङलाई मतियारको भूमिकामा मुद्दा दायर गरिएको थियो।

यही प्रकरणमा महराको संलग्नता रहेको भन्दै केही दिनअघि सीआईबीले उनलाई बयानका लागि बोलाएको थियो। बयानपछि पर्याप्त आधार भेटिएको ठहर गर्दै उनीमाथि मुद्धा दायर गर्न सिफारिस गरिएको र त्यसपछि अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

सम्बन्धित समाचार

सबै