काठमाडौं असार ८ गते । आगामी मंसिर ११ देखि १५ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने घोषणा गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले तल्ला तहका कमिटी तथा जनसंगठनहरूको समायोजन र डिजिटल सदस्यता नवीकरण अभियानलाई तीव्र बनाएको छ।

साबिक माओवादी केन्द्र, एकीकृत समाजवादीसहित विभिन्न २७ राजनीतिक दल तथा समूहको एकीकरणबाट बनेको नेकपाले प्रदेश, जिल्ला, पालिका र वडा तहसम्म संगठन समायोजनको कामलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ। पार्टीले असार १० भित्र समायोजन प्रक्रिया पूरा गर्ने लक्ष्य लिएको छ।
पार्टीका अनुसार सातै प्रदेश, उपत्यका विशेष प्रदेश, सम्पर्क प्रदेश तथा विभिन्न प्रवास कमिटीमा इन्चार्ज, सहइन्चार्ज, संयोजक र सहसंयोजकहरूको नेतृत्वमा संगठन समायोजनको काम भइरहेको छ। प्रचार विभाग प्रमुख रेखा शर्माका अनुसार अधिकांश जिल्लामा समायोजन सम्पन्न भइसकेको छ भने अहिले पालिका र वडा तहमा काम भइरहेको छ।
नेकपाले भदौभित्र वडा, पालिका र जिल्ला अधिवेशन सम्पन्न गर्ने तथा असोज मसान्तसम्म जिल्ला अधिवेशन सक्ने कार्यतालिका सार्वजनिक गरेको छ। यस्तै, कात्तिक १५ भित्र प्रदेश अधिवेशन र मंसिर ११–१५ मा राष्ट्रिय एकता महाधिवेशन आयोजना गर्ने योजना छ।
पार्टीले जनसंगठनहरूको एकीकरणलाई पनि तीव्र बनाएको छ। महिला संगठन, जनसांस्कृतिक महासंघ, दलित मोर्चा तथा बुद्धिजीवी संगठनको एकता सम्पन्न भइसकेको छ भने अन्य संगठनको समायोजन जारी रहेको बताइएको छ। ३२ वटा जनवर्गीय संगठनमा इन्चार्ज र सहइन्चार्ज तोकेर एकीकरण प्रक्रिया अगाडि बढाइएको छ।

यसैबीच, महाधिवेशनलाई लक्षित गर्दै नेकपाले डिजिटल सदस्यता नवीकरण अभियान सञ्चालनमा ल्याएको छ। पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल ले संयुक्त रूपमा अभियानको शुभारम्भ गरेका हुन्।
प्रवक्ता प्रकाश ज्वाला का अनुसार डिजिटल प्रणालीमार्फत सदस्यता नवीकरण प्रक्रियालाई सरल, पारदर्शी र विश्वसनीय बनाइनेछ। सदस्यहरूको विवरण एकीकृत डिजिटल प्रणालीमा सुरक्षित राखिने तथा प्रविधिको पहुँच कम भएका क्षेत्रमा वैकल्पिक सहजीकरणको व्यवस्था पनि गरिनेछ।
नेकपाले असार र साउन महिनामा सदस्यता नवीकरण तथा नयाँ सदस्यता विस्तार अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। पार्टीले कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्याउने, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने र सडकदेखि संसद्सम्म प्रभावशाली उपस्थिति जनाउने लक्ष्यसहित महाधिवेशनको तयारीलाई तीव्र बनाएको जनाएको छ।
