फेब्रुअरी १४ आउन लाग्दा सहर रातो रंगले रंगिन्छ। सडकछेउका फूल पसल, चकलेट र कार्डले भरिएका स्टलहरू, अनि सामाजिक सञ्जालमा ओइरिने कपल फोटोहरूले भेलेन्टाइन डे आएको संकेत दिन्छन्। कसैका लागि यो उत्सव हो, कसैका लागि सम्झनाको दिन, र कसैका लागि आफ्नै एक्लोपनसँग सामना गर्ने घडी। भेलेन्टाइन डे आज प्रेम मनाउने दिन मात्र होइन, यो आजको युवापुस्ताको भावना र सोचाइ झल्काउने एउटा ऐना बनेको छ।
भेलेन्टाइन डेको इतिहास रोमन साम्राज्यको समयसँग जोडिन्छ। जनविश्वासअनुसार, त्यतिबेलाका पादरी Saint Valentine ले सम्राट Claudius II को आदेशको अवज्ञा गर्दै जवान प्रेमी–प्रेमिकाहरूलाई गोप्य रूपमा विवाह गराइदिने गर्थे। सम्राटको धारणा थियो अविवाहित सैनिकहरू युद्धमा राम्रो लड्छन्, त्यसैले उनले युवाहरूलाई विवाह गर्न रोक लगाएका थिए। तर सेन्ट भ्यालेन्टाइनले प्रेमलाई अधिकार ठाने र जोडीहरूलाई साथ दिए। यही कारण उनलाई जेल हालियो र पछि मृत्युदण्ड दिइयो भन्ने कथा प्रचलित छ।
भनिन्छ, मृत्युदण्ड दिनुअघि उनले जेलरकी छोरीलाई “From your Valentine” भनेर हस्ताक्षर गरिएको पत्र लेखेका थिए। यही कथाबाट “भ्यालेन्टाइन” भन्ने शब्द प्रेमको प्रतीकजस्तो बनेको मानिन्छ। पछि गएर फेब्रुअरी १४ लाई प्रेम र समर्पणको दिनका रूपमा मनाउन थालियो।
युरोप हुँदै भेलेन्टाइन डे प्रेमी–प्रेमिकाबीच कार्ड आदान–प्रदान गर्ने चलनको रूपमा फैलियो। औद्योगिक युगपछि कार्ड, चकलेट र उपहारको व्यापार बढ्दै गयो। बिस्तारै यो पर्व विश्वभर फैलियो र आजको युगमा त यो विश्वव्यापी “लभ डे” बनेको छ। तर जहाँ इतिहासमा प्रेम साहस र बलिदानसँग जोडिएको थियो, आज प्रेम धेरै हदसम्म ट्रेन्ड र बजारसँग जोडिएको छ। यसैले कहिलेकाहीँ भेलेन्टाइन डे प्रेम मनाउनेभन्दा पनि प्रेम देखाउने प्रतिस्पर्धा जस्तो लाग्न थाल्छ।