संसद सरेपछि सुनसान अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, इतिहास बोकेको भवन अझै पुनःनिर्माणको पर्खाइमा

0 Shares

काठमाण्डाै चैत्र १५ गते ।  देशले नयाँ प्रतिनिधिसभा पाएर सांसदहरूले शपथ लिएका छन् र नयाँ सरकारसमेत गठन भइसकेको छ। तर, विगत १७ वर्षसम्म संसदका रूपमा प्रयोग हुँदै आएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भने यस्ता ऐतिहासिक गतिविधिबाट यसपटक वञ्चित बनेको छ।

२०६५ जेठ १५ गते राजतन्त्र अन्त्यसँगै संसद भवनका रूपमा प्रयोगमा आएको उक्त भवनले संविधानसभा र प्रतिनिधिसभाका गरी चार निर्वाचनबाट आएका सांसदहरूको स्वागत र बिदाइ गरेको थियो। अनेक राजनीतिक उतारचढाव, सरकार गठन र विघटनको साक्षी बनेको यो भवन २०८२ भदौपछि भने संसदविहीन बन्न पुग्यो।

भदौ २३ गते भएको ‘जेन–जी’ आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले उक्त भवनमा प्रवेश गरी व्यापक तोडफोड र आगजनी गरेका थिए। त्यसपछि संसद सञ्चालनसम्बन्धी सम्झौता स्वतः रद्द भएको संसद सचिवालयले जनाएको छ। सोही दिनदेखि सचिवालयले भवनको वार्षिक १५ करोड रुपैयाँ भाडा तिर्न पनि बन्द गरेको थियो।

हालसम्म पनि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पुनःनिर्माणको प्रतीक्षामै छ। भवनका भित्री संरचनामा ठूलो क्षति पुगेको छ भने विशेषगरी छाना पूर्ण रूपमा क्षतिग्रस्त भएको जनाइएको छ। सम्बन्धित निकायका अनुसार पुनःनिर्माणका लागि आवश्यक लागतसमेत अझै यकिन भइसकेको छैन।

इतिहास बोकेको संरचना

यो भवन निर्माण गर्ने अवधारणा तत्कालीन राजा वीरेन्द्र को पहलमा सुरु भएको थियो। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क को शिखर सम्मेलन आयोजना गर्न अन्तर्राष्ट्रियस्तरको संरचना आवश्यक ठानेर यसको निर्माण प्रक्रिया अघि बढाइएको थियो।

चीन सरकारको करिब एक अर्ब रुपैयाँ सहयोग र नेपाल सरकारको लगानीमा निर्माण गरिएको उक्त भवन २०५० सालमा उद्घाटन गरिएको थियो। निर्माणपछि नयाँ बानेश्वर क्षेत्रको विकासमा यसको ठूलो भूमिका रह्यो।

बानेश्वरको रूपान्तरण

पहिले जङ्गल र खाली जमिन रहेको क्षेत्र नयाँ बानेश्वर अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माणसँगै शहरीकरणतर्फ उन्मुख भयो। संसद भवनका रूपमा प्रयोग भएपछि त्यहाँ व्यापारिक गतिविधि झनै बढ्यो।

स्थानीयका अनुसार संसद भवनकै कारण घरभाडा, व्यवसाय र जनचहलपहल उल्लेख्य रूपमा बढेको थियो। तर, अहिले भवन क्षतिग्रस्त भई प्रयोगविहीन हुँदा क्षेत्रको पुरानो चहलपहल हराउँदै गएको छ।

पुनःनिर्माणको प्रतीक्षा

सरकारले अन्य क्षतिग्रस्त संरचनाको पुनःनिर्माण गरिसकेको भए पनि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अझै अलपत्र अवस्थामा छ।

सम्बन्धित निकायले क्षतिको विस्तृत मूल्याङ्कनपछि मात्र पुनःनिर्माण प्रक्रिया अघि बढ्ने जनाएको छ। तर, कहिलेसम्म पुनःनिर्माण सम्पन्न हुन्छ भन्ने अझै अनिश्चित छ।

इतिहास, राजनीति र विकासको साक्षी बनेको यो भवन पुनः पुरानै स्वरूपमा फर्किने प्रतीक्षामा छ।

सम्बन्धित समाचार

सबै