काठमाडौं ८ मंसिर । जेनजी मुभमेन्टले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा औपचारिक रूपमा माग गरेको छ। सरकारले व्यापक भ्रष्टाचार, दुराचार र संवैधानिक मर्यादा उल्लंघन गरेको आरोप लगाउँदै सो आन्दोलनले प्रधानमन्त्री कार्की नेतृत्वको सरकार ‘नैतिक रूपमा असफल’ भएको दाबी गरेको छ।
सोमबार जारी गरिएको प्रेस विज्ञप्तिमा जेनजी मुभमेन्ट नेपालले ऊर्जामन्त्री कुलमान घिसिङले भारतसँगको विद्युत् सम्झौता गर्दा करिब ४३ करोड रुपैयाँ बराबरको आर्थिक नोक्सानी पुर्याएको, अर्थमन्त्री रामेश्वर खनालले डोल्मा कम्पनीलाई गैरकानुनी कर छुट दिएको र महान्यायाधिवक्ता सबिता भण्डारी डिम्ब तस्करी प्रकरणमा संलग्न रहेको आरोप लगाएको छ।
त्यस्तै, गृहमन्त्री ओमप्रकाश अर्यालले काका नाता पर्ने व्यक्तिलाई सशस्त्र प्रहरीमा डिआईजी बनाउन दरबन्दी थपेको र प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले आफ्नन्तलाई सचिवालयमा नियुक्त गरेको आरोप पनि विज्ञप्तिमा उल्लेख छ। यी सबै कार्य ‘प्रधानमन्त्रीको प्रत्यक्ष संलग्नता वा संरक्षणबिनामा सम्भव नहुने’ दाबी गर्दै प्रधानमन्त्री कार्कीको राजीनामा माग गरिएको हो।
जेनजी मुभमेन्टका प्रवक्ता विजय शाहद्वारा जारी विज्ञप्तिमा सरकारले ‘राजनीतिक नैतिकता गुमाइसकेको’ तथा ‘जनविश्वास समाप्त भएको’ निष्कर्ष निकाल्दै आगामी दिनहरूमा सार्वजनिक अवज्ञा अभियानमा सहभागिताका लागि नागरिकलाई आह्वान गरिएको छ।