आज विश्व मुटु दिवस: समयमै सचेत नभए मुटुरोगको जोखिम बढ्दै

0 Shares

काठमाडौं, असोज १३ गते। नेपालमा हरेक वर्ष १५ हजारभन्दा बढी व्यक्तिमा हृदयाघात हुने गरेको सरकारी अध्ययनले देखाएको छ। मुटुरोग विशेषज्ञहरूका अनुसार उच्च रक्तचाप, मधुमेह, मोटोपना, धुम्रपान तथा अस्वस्थ जीवनशैली मुटुरोगका प्रमुख जोखिम कारकका रूपमा देखिएका छन्।

स्वास्थ्य सेवा विभागले सन् २०२५ मा गरेको अध्ययनअनुसार नेपालमा बर्सेनि १५ हजारभन्दा बढी नयाँ हृदयाघातका बिरामी थपिने गरेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का तथ्यांकअनुसार नेपालमा मुटुरोगका कारण वार्षिक करिब ३० हजार जनाको मृत्यु हुने गरेको छ। तीमध्ये करिब एकतिहाइ मृत्यु १३ देखि ४५ वर्ष उमेर समूहका व्यक्तिमा हुने गरेको उल्लेख छ।

सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक प्राडा आशिषगोविन्द अमात्यका अनुसार धेरै व्यक्तिमा उच्च रक्तचाप र मधुमेहको समयमै पहिचान नहुँदा त्यसको प्रत्यक्ष असर मुटुमा पुग्ने गरेको छ। उनका अनुसार पछिल्ला वर्षहरूमा मुटुरोगका बिरामीमा जटिलता बढ्दै गएको र शल्यक्रियासमेत आवश्यक पर्ने अवस्था वृद्धि भइरहेको छ।

गंगालाल अस्पतालको तथ्यांकअनुसार गत वर्ष २ हजार ८३ जना मुटुरोगका बिरामी अस्पतालमा भर्ना भएका थिए। अस्पतालमा कोरोनरी धमनी रोग (हार्ट अट्याक), उच्च रक्तचापसँग सम्बन्धित मुटुरोग, भल्भसम्बन्धी समस्या, रुमेटिक हृदय रोग, जन्मजात मुटुरोग तथा मुटु फेलका बिरामीको संख्या उल्लेख्य रहेको अस्पतालले जनाएको छ।

वीर अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. कुञ्जाङ शेर्पाले मुटुरोग नेपालमा गम्भीर सार्वजनिक स्वास्थ्य चुनौतीका रूपमा बढ्दै गएको बताए। उनका अनुसार धुम्रपान, असन्तुलित आहार, शारीरिक गतिविधिको कमी तथा अन्य अस्वस्थ जीवनशैलीका कारण मुटुका रक्तनली बन्द हुने, मुटुको चाल अनियमित हुने र मुटु फेल हुने समस्या बढिरहेको छ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले विशेषगरी युवा पुस्तामा मुटुसम्बन्धी समस्या बढ्दै गएको बताए। उनका अनुसार उच्च रक्तचाप, मधुमेह, मिर्गौला तथा कलेजोसम्बन्धी रोग कम उमेरमै देखिन थालेकाले त्यसले मुटुको स्वास्थ्यमा पनि प्रत्यक्ष असर गरिरहेको छ।

जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीले जंकफुडको बढ्दो प्रयोग, नियमित व्यायामको अभाव, मोबाइल तथा डिजिटल उपकरणमा अत्यधिक समय बिताउने बानी, मदिरा सेवन र निष्क्रिय जीवनशैलीका कारण युवामा मुटुरोगको जोखिम बढ्दै गएको बताइन्। उनले स्वस्थ खानपान, नियमित शारीरिक व्यायाम, धुम्रपान र मदिराबाट टाढा रहनु तथा रक्तचाप र रगतमा चिनीको मात्रा नियमित परीक्षण गराउनु मुटु स्वस्थ राख्ने प्रभावकारी उपाय भएको उल्लेख गरिन्।

यस वर्ष सेप्टेम्बर २९ (असोज १३) मा विश्व मुटु दिवस ‘कुनै पनि धड्कनलाई नछुटाऔँ’ भन्ने नाराका साथ मनाइँदै छ। विश्व मुटु महासंघले सन् २०३० सम्म हाल उपचारको पहुँचबाहिर रहेका करिब ५० करोड मानिसलाई मुटुसम्बन्धी उपचारको पहुँचमा ल्याउने लक्ष्य लिएको छ।

सम्बन्धित समाचार

सबै