जैमिनी नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न, ४० प्रतिशत वित्तीय प्रगति

0 Shares

बागलुङ (गलकोट), फागुन ३० गते  ।  जैमिनी नगरपालिकाले चालु आर्थिक वर्षको दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम वडा नम्बर ७ को जैदीमा सम्पन्न गरेको छ।

कार्यक्रममा नगरपालिकाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रमुख प्रशासकीय अधिकृत कृष्ण पौडेलले हालसम्म ४० प्रतिशत

 वित्तीय प्रगति भएको जानकारी दिनुभयो। उहाँका अनुसार चालु आर्थिक वर्षमा ६६ लाख रुपैयाँभन्दा बढी आन्तरिक राजश्व सङ्कलन भएको छ।

नगरपालिकामा रहेका ४१८ वटा योजनामध्ये हालसम्म ३६७ वटा योजनाको सम्झौता भई कार्यान्वयनमा गएको पौडेलले बताउनुभयो। साथै ‘नगरकी छोरी’ कार्यक्रमअन्तर्गत २४ जनालाई प्रतिव्यक्ति दुई हजार ५०० रुपैयाँका दरले बैंक खातामा रकम जम्मा गर्ने प्रक्रिया अघि बढेको उहाँले जानकारी दिनुभयो।

सार्वजनिक सुनुवाइमा स्थानीयवासीले बाँदर आतङ्कका कारण गाउँ रित्तिँदै गएको गुनासो गरेका थिए। कृषि बाली वन्यजन्तुले नष्ट गर्दा किसानले ठूलो क्षति व्यहोर्नुपरेको भन्दै समस्या समाधानका लागि नगरपालिकाले ठोस योजना ल्याउनुपर्ने माग गरेका थिए।

स्थानीय इन्दु शर्मा, सरस्वती शर्मा चालिसे, कमल नेपाली, तिलकबहादुर थापा, दुरबहादुर नेपाली, किरण चालिसे, टंक राना, लोकराज शर्मा र तमसम रानालगायतले किसानले समयमै मल र बीउ नपाएको, विपद्का बेला उचित राहत व्यवस्था नभएको भन्दै नगरपालिकाको ध्यानाकर्षण गराएका थिए।

कार्यक्रममा बोल्दै नगर प्रमुख नरबहादुर पुनले सुशासन र पारदर्शिता प्रवर्द्धन गर्न सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। उहाँले कृषि एम्बुलेन्स सेवामार्फत किसानले उत्पादन गरेको कृषि उपजलाई बजारसम्म पुर्‍याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

त्यस्तै नगर उपप्रमुख हरिहर शर्माले सीमित स्रोत–साधनका बाबजुद पनि पालिकाले नागरिकको आवश्यकता पूरा गर्न प्रयासरत रहेको बताउनुभयो। अनुगमन, राजश्व सङ्कलन तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने काम भइरहेको उहाँले जानकारी दिनुभयो।

नेपाल पत्रकार महासंघका सहसचिव नवराज नेपालीले कार्यक्रममा नागरिक सन्तुष्टि सर्वेक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

सुशासन समितिका संयोजक तथा जैमिनी नगरपालिका वडा नं. २का वडाध्यक्ष प्रेम सापकोटाको अध्यक्षतामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको थियो।

सम्बन्धित समाचार

सबै