प्रतिनिधिसभा निर्वाचनमा बदर मत बढ्यो, प्रत्यक्षतर्फ ५.४५ प्रतिशत

0 Shares

काठमाडौँ  ३० फागुन । यसपालिको प्रतिनिधिसभा निर्वाचनमा अघिल्ला चुनावको तुलनामा बदर मतको प्रतिशत बढेको देखिएको छ। विशेषगरी प्रत्यक्ष निर्वाचन प्रणालीमा समानुपातिकतर्फभन्दा बढी मत बदर भएको तथ्याङ्कले देखाएको छ।

निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदातामध्ये १ करोड ११ लाख ६८ हजार ३२ जना (५९.०८ प्रतिशत) ले मतदान गरेका थिए। खसेको मतमध्ये ६ लाख ९ हजार १५ मत (५.४५ प्रतिशत) बदर भएको छ।

समानुपातिकतर्फ भने बदर मतको प्रतिशत तुलनात्मक रूपमा कम रहेको छ। आयोगका अनुसार १ करोड १३ लाख १२ हजार ४५५ मत (५९.८४ प्रतिशत) खसेकामा ४ लाख ६३ हजार ३७३ मत (४.१० प्रतिशत) बदर भएका छन्।

निर्वाचनमा बदर मत घटाउन आयोगले यस पटक मतदाता शिक्षा कार्यक्रमका लागि करिब २५ करोड रुपैयाँ खर्च गरेको थियो। प्रत्येक वडामा स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको थियो। वडा तहमा स्वयंसेवक परिचालन गर्न मात्रै ७ करोड ४६ लाख रुपैयाँ खर्च भएको आयोगले जनाएको छ। यसबाहेक डिजिटल प्लेटफर्म, सञ्चारमाध्यम, पर्चा–पम्प्लेट र नमुना मतपत्र छपाइमा पनि ठूलो रकम खर्च गरिएको थियो।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन परिणामको सम्पूर्ण तथ्याङ्कको विस्तृत अध्ययन र विश्लेषण भइनसकेकाले अहिले नै बदर मत बढ्नुका कारणबारे निष्कर्ष निकाल्न नसकिने बताए। उनका अनुसार समानुपातिकतर्फ भने विगतको तुलनामा बदर मत प्रतिशत केही घटेको देखिन्छ।

यसअघि २०७९ को प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ ५.०६ प्रतिशत मत बदर भएको थियो। त्यतिबेला कुल १ करोड ७९ लाख ८८ हजार ५७० मतदातामध्ये १ करोड १० लाख ४७ हजार ३४ (६१.४१ प्रतिशत) ले मतदान गरेका थिए। त्यसमध्ये ५ लाख ५९ हजार ७६ मत बदर भएको थियो। समानुपातिकतर्फ भने ५.०९ प्रतिशत मत बदर भएको थियो।

त्यस्तै २०७४ को निर्वाचनमा प्रत्यक्षतर्फ ५.१७ प्रतिशत मत बदर भएको थियो भने समानुपातिकतर्फ करिब ९.९० प्रतिशत मत बदर भएको अनुमान गरिएको थियो।

निर्वाचन पर्यवेक्षण गर्दै आएको डेमोक्रेसी रिसोर्स सेन्टरका कार्यकारी निर्देशक शेखर पराजुलीका अनुसार मतदाता शिक्षा प्रभावकारी हुन नसक्दा बदर मत घट्नुको साटो बढेको हो। उनका अनुसार २–३ प्रतिशतसम्म बदर मत हुनु सामान्य मानिए पनि ५ प्रतिशतभन्दा बढी बदर मत हुनु राम्रो संकेत होइन

पराजुलीका अनुसार मतदातालाई दुई फरक मतपत्रमा मतदान गर्नुपर्ने विषय स्पष्ट रूपमा बुझाउन नसक्दा पनि प्रत्यक्षतर्फ बदर मत बढेको हुन सक्छ। कतिपय मतदाताले एउटै मतपत्रमा दुई ठाउँमा स्वस्तिक चिन्ह लगाउँदा मत बदर भएको उनले बताए।

उनका अनुसार मतदान अधिकृतले हस्ताक्षर नगरी मतपत्र दिनु, कुन मतपेटिकामा मत हाल्ने भन्ने स्पष्ट जानकारी नदिनु जस्ता कारणले पनि मत बदर हुने गरेको पाइएको छ। विशेषज्ञहरूका अनुसार आगामी निर्वाचनमा मतदाता शिक्षा कार्यक्रमलाई अझ प्रभावकारी बनाउनु आवश्यक देखिएको छ।

सम्बन्धित समाचार

सबै