डा. स्वर्णिम वाग्लेले सार्वजनिक गरे निर्वाचन खर्च

0 Shares

तनहुँ, फागुन २९ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट तनहुँ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार डा. स्वर्णिम वाग्लेले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गर्नुभएको छ।

जिल्ला निर्वाचन कार्यालय तनहुँमा पेस गरिएको विवरणअनुसार उहाँको निर्वाचन अभियानमा कुल २६ लाख ९० हजार ७५४ रुपैयाँ खर्च भएको उल्लेख छ। निर्वाचन आयोगले सो क्षेत्रमा तोकेको अधिकतम ३० लाख रुपैयाँ खर्च सीमाभित्रै रहेर उहाँले विवरण बुझाउनुभएको हो।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ तथा निर्वाचन आचारसंहिताअनुसार डा. वाग्लेका निर्वाचन प्रतिनिधि पदमराज न्यौपानेले फागुन २७ गते जिल्ला निर्वाचन कार्यालयमा उक्त खर्च विवरण पेस गर्नुभएको हो।

सार्वजनिक गरिएको विवरणअनुसार निर्वाचन अभियानमा सबैभन्दा धेरै रकम प्रचारप्रसार सामग्री र सवारीसाधन व्यवस्थापनमा खर्च भएको देखिएको छ। प्रचारप्रसार सामग्री खरिद तथा छपाइमा ६ लाख ५० हजार २९८ रुपैयाँ खर्च भएको छ भने १५ दिनको सवारीसाधन तथा इन्धन व्यवस्थापनमा ४ लाख ५० हजार रुपैयाँ खर्च गरिएको छ।

त्यस्तै, ४२ वटा वडामा कार्यालय सञ्चालनका लागि ४ लाख २० हजार रुपैयाँ, खाना, खाजा तथा अस्थायी बसोबासका लागि ३ लाख ४८ हजार ९०० रुपैयाँ र विद्युतीय माध्यमबाट गरिएको प्रचारप्रसारमा ३ लाख ४८ हजार ४६४ रुपैयाँ खर्च भएको छ।

६९ मतदान केन्द्रमा बुथ प्रतिनिधि परिचालन गर्दा ३ लाख १९ हजार ३०० रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ। अन्य विविध शीर्षकमा १ लाख ४० हजार ७९२ रुपैयाँ, मनोनयन दर्तामा १० हजार रुपैयाँ र मतदाता नामावली खरिदमा ३ हजार रुपैयाँ खर्च भएको जनाइएको छ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा डा. वाग्ले ३८ हजार ४० मतसहित विजयी हुनुभएको हो। उहाँले आफ्ना मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईलाई २१ हजार ८०९ मतान्तरले पराजित गर्नुभएको थियो। भट्टराईले १६ हजार २३१ मत प्राप्त गर्नुभएको थियो।

सम्बन्धित समाचार

सबै