वैवाहिक जीवनको १४ दिनमै विन्दुको शंकास्पद मृत्यु

0 Shares

कञ्चनपुर २९ फागुन । वैवाहिक जीवन सुरु भएको दुई सातामै कञ्चनपुरकी एक महिला मृत अवस्थामा फेला परेकी छन्। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ कालापानीकी २२ वर्षीया विन्दु धामी आफ्नै कोठामा मृत भेटिएकी हुन्।

परिवारका अनुसार विन्दुको १४ फागुन २०८२ मा कृष्णपुर नगरपालिका–७ मटैयाकटानका २९ वर्षीय भीम धामीसँग मागीविवाह भएको थियो। विवाह भएको १४ दिनपछि अर्थात् २७ फागुनमा उनी आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी हुन्।

मृतक विन्दुकी हजुरआमा तारा धामीले विवाहको खुसी साट्न नपाउँदै नातिनीको शंकास्पद मृत्यु भएको बताइन्। उनले घटनाको निष्पक्ष छानबिन हुनुपर्ने र दोषीलाई कानुनी कारबाही गर्नुपर्ने माग गरेकी छन्।

विन्दु कक्षा १२ मा अध्ययनरत रहँदै ब्युटिपार्लरको तालिम लिइरहेकी थिइन्। कुटुम्ब माग्न आएपछि धार्मिक परम्पराअनुसार विवाह गरिएको माइती पक्षले जनाएको छ। तर विवाह भएको छोटो समयमै भएको मृत्युले शंका उत्पन्न गरेको भन्दै माइती पक्षले विन्दुकै श्रीमानमाथि आशंका व्यक्त गरेका छन्।

मृतकका हजुरबुबा प्रेमसिंह धामीले नातिनीको मृत्यु रहस्यमयी भएको बताए। उनका अनुसार शवमा केही शंकास्पद संकेत देखिएकाले घटनाको सत्यतथ्य बाहिर ल्याउनुपर्ने आवश्यकता रहेको छ।

झलारीस्थित इलाका प्रहरी कार्यालयका इन्चार्ज राजेश बस्नेतका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ। मृतकको पोस्टमार्टम भइसकेको र रिपोर्ट आइतबारसम्म आउने अपेक्षा गरिएको उनले बताए।

कञ्चनपुरका सामाजिक अगुवा रामदत्त भट्टले यति छोटो समयमै भएको यस्तो मृत्युले गम्भीर प्रश्न उठाएको भन्दै घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने बताएका छन्।

सम्बन्धित समाचार

सबै