काठमाडौं कात्तिक २७ गते । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)सहित १० वाम दलहरू एकीकरणपछि बनेको नयाँ नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले १३८ सदस्यीय केन्द्रीय समिति गठन गरी निर्वाचन आयोगमा दर्ता प्रक्रिया अघि बढाएको छ ।
नयाँ पार्टीको संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजकमा माधवकुमार नेपाल प्रस्ताव गरिएको छ । आयोगमा पेश गरिएको सूचीनुसार तेस्रो नम्बरमा झलनाथ खनाल, चौथोमा बामदेव गौतम, पाँचौँमा नारायणकाजी श्रेष्ठ, छैटौँमा अग्नि सापकोटा, सातौँमा कृष्णबहादुर महरा, आठौँमा जगन्नाथ खतिवडा, नवौँमा जयन्तीदेवी राई र दशौँमा डा. बेदुराम भुसाल रहेका छन् ।
सूचीको शीर्ष १० सदस्यमा एक जना मात्र महिला, जयन्तीदेवी राई, समावेश छिन् भने शीर्ष १५ सम्म पुग्दा दुई महिला, राईसँगै पम्फा भुसाल पनि समेटिएकी छन् ।
सम्पूर्ण १३८ सदस्यीय समितिमा भने ३५ प्रतिशतभन्दा बढी अर्थात् ५० महिला सदस्य समावेश गरिएका छन् । समितिको अन्तिम नाममा प्रचण्डकी बुहारी बिना मगरको नाम रहेको छ ।
यसबीच, डा. भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान नेपाल पनि नेकपामा समाहित भए पनि आयोगमा बुझाइएको सूचीमा रावलको नाम उल्लेख गरिएको छैन । पार्टी स्रोतका अनुसार रावल नेतृत्वको समूह एकीकृत हुनुअघि नै नामावली आयोगमा पेश भएकाले उनको नाम छुटेको हो । तर दल दर्ताको औपचारिक प्रक्रिया पूरा नहुँदा र कागजात संकलन कार्य जारी रहेकाले रावलको नाम पछि थपिने सम्भावना रहेको बताइएको छ ।
नयाँ एकीकृत नेकपा दर्ता भएपछि वाम ध्रुवीकरणको प्रक्रियाले औपचारिक रूप लिने संकेत देखिएको छ ।




