काठमाडौं, कात्तिक १६ । प्रधानमन्त्री सुशीला कार्कीले आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग संयुक्त बैठक आह्वान गरेकी छन् । बैठक आज अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय गरिएको छ ।
प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार संघीय प्रणाली लागू भएको परिवर्तित राजनीतिक अवस्थाको समीक्षा गर्ने र संघीय र प्रदेश सरकारबीच समन्वय, सहकार्य तथा संवादलाई थप सुदृढ बनाउने उद्देश्यले यो बैठक बोलाइएको हो ।
बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार, बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह सहभागी हुनेछन् ।
बैठकमा प्रदेश सरकारका कार्यसम्पादन, संघीय अनुदानको उपयोग, बजेट कार्यान्वयनको अवस्था तथा केन्द्र–प्रदेशबीच देखिएका प्रशासनिक र नीतिगत समस्याबारे छलफल हुने बताइएको छ । साथै, आगामी दिनमा संघ र प्रदेशबीचको सहकार्यलाई संस्थागत र प्रभावकारी बनाउनका उपायहरूबारे पनि प्रधानमन्त्री कार्कीले सुझाव सङ्कलन गर्ने तयारी गरेकी छन् ।












