काठमाडौं २८ असोज, । दुई वर्षअघि प्यालेस्टिनी समूह हमासको कब्जामा परेका कञ्चनपुरका विपिन जोशीको जीवित फर्किने आशा अन्ततः निराशामा अन्त्य भएको छ । २३ असोज २०८० मा हमासले अपहरण गरेको विपिन जोशी दुई वर्ष चार दिनपछि सोमबार शवको रूपमा इजरायल फर्काइएका हुन् ।
हमासले सोमबारै २० जना जीवित इजरायली युद्धबन्दीलाई मुक्त गरे पनि, उनीहरूसँगै विपिनसहित चारजनाको शव रेडक्रसको माध्यमबाट इजरायली सेनालाई हस्तान्तरण गरेको इजरायली अधिकारीहरूले पुष्टि गरेका छन् । शव दक्षिणी गाजाबाट ल्याइएको र डिएनए परीक्षणपछि मात्र औपचारिक पुष्टि गरिने जनाइएको छ ।
इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितका अनुसार, “हमास समूहले विपिनसहित चारजनाको शव भनेर हस्तान्तरण गरेको हो । रेडक्रसमार्फत इजरायली सेनाले शव लिएर डिएनए परीक्षण गर्दैछ । त्यसपछि मात्रै उनको शव हो कि होइन भन्ने पुष्टि हुनेछ,” उनले टेलिफोनमा जानकारी दिए ।
हमास र इजरायलबीच २३ असोजमा भएको युद्धविरामपछि विपिन जीवित फर्कने सम्भावना बलियो बनेको थियो । तर सोमबार बिहान हमासले इजरायललाई २० जीवित बन्दी बुझाउँदा विपिन जीवित नरहेको सूचना दियो ।
सोही दिन बेलुका हमासले विपिनको शव हस्तान्तरण गरेको भए पनि, उनको मृत्यु कहिले र कुन परिस्थितिमा भएको भन्ने विवरण अझै स्पष्ट भएको छैन ।
विपिनको परिवारलाई इजरायली अधिकारीहरूले राजदूत पण्डितको उपस्थितिमा भिडियोमार्फत यो दुखद समाचार दिएका थिए । अमेरिकामा रहेका विपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी, तथा नेपालमा रहेका नातेदारहरूलाई पनि यो जानकारी दिइएको हो ।
विपिनका दाजु किशोरले भने, “दूतावासबाट आधिकारिक पुष्टि नआएसम्म विश्वास गर्न सक्दिनौं । भाइको श्वास वा लास पाउँदासम्म हामी पर्खिरहेका छौं ।”
इजरायलस्थित नेपाली दूतावासका अधिकारीहरूलाई इजरायली सेनामा कार्यरत महावाणिज्यदूत नद्दाब बेन यहुदाले विपिनको शव भेटिएको जानकारी दिएका थिए । उनका अनुसार, शव फिर्ता गरिएका अन्य तीन इजरायली नागरिकहरू — गाई इलयगश, योसी शाराबी र डानिएल पेरेत्ज — को मृत्यु पहिले नै पुष्टि भएको थियो ।
इजरायली समाचार माध्यम टाइम्स अफ इजरायल र जेरुसेलम पोस्टका अनुसार, हमासले रेडक्रसका प्रतिनिधिलाई चारवटा अलग–अलग कफिन हस्तान्तरण गरेको छ ।
नेपालको परराष्ट्र मन्त्रालयले सोमबार साँझ विज्ञप्ति जारी गर्दै विपिनको अवस्था अज्ञात रहेको जनाएको थियो । तर केही घण्टापछि हमासले विपिनको शव इजरायललाई बुझाएको सूचना आएको मन्त्रालयले जनाएको हो ।
मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भने, “इजरायली अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रहन निर्देशन दिइएको छ । विपिनको शव पुष्टि भएपछि आवश्यक प्रक्रिया अघि बढाइनेछ ।”
नेपाल सरकारले विगत दुई वर्षदेखि विपिनको उद्धारका लागि कूटनीतिक तथा मानवीय पहलहरू निरन्तर गरेको परराष्ट्रले जनाएको छ ।
भीमदत्त नगरपालिका–३, कञ्चनपुरका २३ वर्षीय विपिन जोशी सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत टीकापुर कृषि क्याम्पसका विद्यार्थी थिए । उनी ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत २७ भदौ २०८० मा इजरायल पुगेका थिए ।
तर, एक महिना नपुग्दै २३ असोजमा हमासको इजरायलमाथिको आक्रमणका क्रममा तेलअभिभबाट करिब ८५ किलोमिटर दक्षिणको आलुमिम किबुज क्षेत्रबाट विपिनलाई हमास लडाकूहरूले अपहरण गरेका थिए ।
सोही घटनामा विपिनसँगै इजरायल पुगेका १० नेपाली विद्यार्थीको त्यतिबेलै मृत्यु भएको थियो । ती विद्यार्थीहरूमा कैलाली, डोटी, बझाङ, सल्यान, दार्चुला, धनुषा र सुनसरीका युवा रहेका थिए ।
हमास र इजरायलबीचको पछिल्लो सम्झौता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘मध्यपूर्व शान्ति योजना’ अन्तर्गत भएको हो । सो समझदारीअनुसार, इजरायलले १७१८ प्यालेस्टिनी कैदीहरूलाई रिहा गरेको र हमासले २० इजरायली युद्धबन्दीलाई फिर्ता गरेको हो ।
तर, विपिनसहितका चार शवहरू फिर्ता गरिएको घटनाले मानवीय संकट अझ गहिरिएको टिप्पणी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले गरेका छन् ।
विपिनकी आमा पद्मा र बहिनी पुष्पा हाल अमेरिकामा छन्, जहाँ उनीहरू विपिनको रिहाइका लागि कूटनीतिक पहल गर्दै आएका थिए । शवको औपचारिक पुष्टि भएपछि उनीहरू स्वदेश फर्किने तयारीमा रहेको पारिवारिक स्रोतले जनाएको छ ।
यद्यपि, अहिले पनि परिवारको मनमा एकै प्रश्न घुमिरहेको छ —
“साँच्चै विपिन अब फर्किँदैनन्?”