भूमि व्यवस्थामन्त्री काे ३२ लाख ‘घुस’ लिएको अडियो बाहिरियो

0 Shares

काठमाडौँ  असार ३२ गते : पोखरामा १ सय ३५ रोपनी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने चलखेलमा भूमि व्यवस्थामन्त्री बलराम अधिकारीसमेत जोडिएका छन्। सो जग्गा व्यक्तिको नाममा ल्याउन सक्रिय समूहसँग घुस डिल गरेको अडियो सार्वजनिक भएपछि सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले मंगलबार राजीनामा दिएका थिए।

मन्त्री गुप्ताले घुस लिएको अडियोमा मन्त्री अधिकारीको नाम समेत पोलिएको थियो। तर उनले प्रतिनिधि सभामा बोल्दै जुन ‌औँलामा विष लागेको हो त्यही झर्ने दाबी गर्दै सो घटनामा आफ्नो संलग्नता नभएको दाबी गरेका थिए। बुधवार सार्वजनिक नयाँ अडियोमा पोखराको जग्गाका लागि घुस रकम लिनेमा गुप्तासँगै भूमि व्यवस्थामन्त्री बलराम अधिकारी, सामान्य प्रशासन मन्त्रालयका तत्कालीन सचिव अर्जुन पोखरेल, मन्त्री अधिकारीका छोरा मनोज अधिकारीसमेत जोडिएका छन्।

सार्वजनिक भएको नयाँ अडियोमा सो जग्गा मिलाउनका लागि मन्त्री अधिकारीले ३२ लाख लिएको दाबी गरिएको छ। अडियोमा मन्त्री गुप्ता, अधिकारी र सचिव पोखरेलसहितका लागि डेढ करोड बढी रकम खर्च भइसकेको दाबी गरिएको छ।
अडियोमा भूमि व्यवस्था मन्त्री अधिकारीले ३२ लाख, गुप्ताले ३५ लाख र सचिव पोखरेलले पाँच लाख लिएको दाबी गरिएको छ। सो अडियोमा कास्की मालपोतका तत्कालीन प्रमुख रामचन्द्र अधिकारी समेत जोडिएका छन्।

अडियो संवादमा मन्त्री अधिकारीले मनोजमार्फत पैसा लिएको दाबी गरिएको छ। अडियोमा मन्त्रीका छोरा मनोज न्युजिल्याण्डमा बस्ने गरेको र बुबा मन्त्री भएर पछि नेपाल आएर पैसा उठाउने काम गर्ने गरेको उल्लेख गरिएको छ। मन्त्रालय अन्तर्गतको सरुवामा मन्त्रीका छोरा मनोजले पैसा लिएर काम गर्ने गरेको दाबी गरिएको छ।

अडियोमा भूमि आयोग कास्कीको अध्यक्षमा खेमबहादुर पुनको नियुक्तिको प्रसङ्ग छ। मन्त्री अधिकारीसँग भेट्दा पहिला किन नआएको सुजन भाइ। खेम पुनमा अडान लिएको हो भने म गर्थेँ नि’ भनेर भनेको दाबी गरिएको छ।

अडियोमा मंगलबार राजीनामा दिएका सामान्य प्रशासन मन्त्री गुप्तासँगको अडियो संवाद समेत छ। सो अडियोमा जग्गा व्यक्तिको नाममा गर्न सक्रिय समूहका सदस्यले मन्त्री अधिकारीसँगको भेटको प्रसङ्गबारे गुप्तालाई बताउँदै ‘सामान्यले फालेपछि म काम गर्छु’ भनेको बताएका छन्।

तत्कालिन सचिव पोखरेल पोखराको नयाँबजारको होटलमा बस्दा दुई वटा वन कुखुरा, १० हजारको सामान, दुई बोतल ह्स्की र पाँच लाख रुपैँया दिएको अडियोमा दाबी गरिएको छ।

 

‘मेरो छोराको कसम म काम गर्छु’

बुधवार सार्वजनिक भएको नयाँ अडियोमा मंगलबार राजीनामा दिएका मन्त्री गुप्ताले भर्खर सचिव नयाँ ल्याएको तर उ पहिलाको भन्दा पनि बाप रहेको भन्दै उनले पशुपतिनाथ र छोराको कसम खाएका छन्।

‘पशुपतिनाथको कसम खाएर भनिरहेको छु। छोराको कसम खाएर भनिराखेको छु। सचिवसँग झगडा भयो। यो त पहिलाको बाप रहेछ।‘

नयाँ अडियोमा घुस दिने व्यक्ति मन्त्री गुप्तालाई भेट्न पोखराबाट प्लेनमा काठमाडौँ आउन लाग्दाको फोन संवाद सुनिन्छ। मन्त्री गुप्ताले ११ बजे राज्य व्यवस्थाको बैठक रहेको र त्यसपछि प्रधानमन्त्रीको कार्यालय जानुपर्ने भएकाले चार बजेतिर कल गरेर दुई भाइ मात्र बस्ने कुरा गरेका छन्।

‘तपाइले भनेपछि म काम गर्छु। तपाईँको समस्या मेरो समस्या हो’ गुप्ताले भनेका छन्।

अडियोमा प्रकाश दाहाल, आर्यन शर्मा लगायतले मन्त्री बलराम अधिकारीको छोरा पोखरा आएको बेलामा पैसा लिएर रामचन्द्रको सरुवा गरेको दाबी गरिएको छ। मन्त्री बलरामले पैसा लिएको उनकै छोरा सुजनले पुष्टि गरेको अडियोमा दाबी गरिएको छ। अडियो अनुसार मन्त्री अधिकारीलाई ३२ लाख मन्त्री क्वाटरमा लगेर बुझाइएको थियो।

facebook sharing button
messenger sharing button
twitter sharing button
viber sharing button
sharethis sharing button

सम्बन्धित समाचार

सबै