आज देशभरका प्रमुख चर्चित समाचारहरू

0 Shares

शिक्षामन्त्रीमा रघुजी पन्त, ऊर्जा राज्यमन्त्री बर्खास्त 

प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी पन्तलाई नियुक्त गरेका छन्। यसअघिकी शिक्षामन्त्री विद्या भट्टराईले दिएको राजीनामा स्वीकृत गर्दै उनले एमालेकै नेता पन्तलाई शिक्षामन्त्रीको जिम्मेवारी दिएका हुन्।प्रधानमन्त्री कार्यालयको पत्रअनुसार राष्ट्रपतिबाट रामचन्द्र पौडेलले पन्तलाई नियुक्त गरेका हुन्।  उनलाई बिहीबार शपथ गराउने तयारी छ।

शिक्षक आन्दोलतलगायतका विषयमा प्रधानमन्त्रीसँग फरक मत भएपछि भट्टराईले गत साेमबार राजीनामा दिएकी हुन्। त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ(कान्छाराम) लाई हटाएका छन्। तामाङले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएकोमा विरोध गर्दै आएका थिए।

 

प्रधानमन्त्रीसँग भारतीय विद्युतमन्त्रीको शिष्टाचार भेट

blog

 वैशाख १० गते । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतका विद्युत्, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टरले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा दुई छिमेकी मुलुकबिचको मित्रवत् र सांस्कृतिक सम्बन्ध, ऊर्जा क्षेत्रको विकास र सहकार्यका विविध पक्षमा छलफल भएको छ ।

पछिल्ला दिनमा दुई देशबीचको ऊर्जा क्षेत्रमा राम्रो सहकार्य विकास हुँदै गएको विषयमा उहाँहरूबिच छलफल भएको थियो । भारतीयमन्त्री खट्टरले अरुण–३ जलविद्युत् आयोजना क्षेत्रमा स्थलगत भ्रमण गरी प्रगतिबारे जानकारी लिएको अवगत गराउनुभयो । उक्त आयोजनालाई थप गति दिने भारतीय मन्त्री खट्टरले बताउनुभयो । भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपालका लागि भारतीय राजदूत नवीनकुमार श्रीवास्तव, परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी हुनुहुन्थ्यो । रासस

राष्ट्रपति पौडेल र युएईका उपप्रधानमन्त्री नाह्यानबिच शिष्टचार भेट

blog

 वैशाख १० गते। राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अरब इमिरेट्स (युएई)का उपप्रधानमन्त्री तथा विदेशमन्त्री शेख अब्दुल्लाह बिन जायेद अल नाह्यानले शिष्टचार भेट गर्नुभएको छ। मंगलबारदेखि नेपालको दुईदिने औपचारिक भ्रमणमा रहनुभएका युएईका उपप्रधानमन्त्री नाह्यानले राष्ट्रपति कार्यालयमा बुधबार भेट गर्नुभएको हो।  भेटमा राष्ट्रपति पौडेलले विश्वका सबै देशलाई जलवायु परिवर्तन विरुद्धको कार्यलाई तीव्र बनाउन आग्रह गर्दै श्रोत साधन आवश्यक भएका देशलाई जलवायु परिवर्तन र यसबाट सिर्जित क्षतिपूर्तिका लागि प्राविधिक र आर्थिक सहयोग प्रदान गर्न समेत अनुरोध गर्नुभयो।

उहाँले विश्व मञ्चहरुमा जलवायु न्यायका लागि आफूले आवाज उठाउँदै आएको र  नेपाल जलवायु परिवर्तनको मारमा परिरहेको बताउँदै नेपाल र संयुक्त अरब इमिरेट्सले पहाडी र तटीय मुलुकको रूपमा जलवायु परिवर्तनको प्रतिकूल प्रभावको साझा जोखिमको सामना गरिरहेको र जलवायु परिवर्तनबाट सिर्जित विपदले हाम्रो दूर्लभ श्रोतसाधनलाई प्रतिकुलता प्रदान गरेको उल्लेख गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लहकार किरण पोखरेलले जानकारी दिनुभयो।राष्ट्रपति पौडेलले संयुक्त अरब इमिरेट्समा चार लाख भन्दा बढी नेपालीहरूलाई रोजगारीको अवसर प्रदान गरेको धन्यवाद दिदै भन्नुभयो, ‘संयुक्त अरब इमिरेट्स चार लाख भन्दा बढी नेपालीहरूको लागि दोस्रो घरको रुपमा रहेको छ। उनीहरूले दुई देशबिच जनस्तरको सम्बन्ध विस्तारका लागि जिवित पुलको रूपमा पनि काम गरिरहेका छन्। तपाईंको सुन्दर देशमा यति ठूलो संख्यामा नेपालीहरूलाई रोजगारीको अवसर प्रदान गर्नुभएकोमा धेरै धेरै धन्यवाद।’

युएई नेपालको चौथो ठूलो व्यापारिक साझेदार देश भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले भन्नुभयो, ‘हाम्रो द्विपक्षीय व्यापार अभिवृद्धि गर्न सकिने ठूलो सम्भावनामा निजी क्षेत्रको संलग्नतालाई हामीहरुले प्रोत्साहित गर्नुपर्छ। संयुक्त अरब इमिरेट्सका लगानीकर्तारूलाई कृषि, खानी, जलविद्युत, पूर्वाधार विकास, पर्यटन र आतिथ्य, सूचना प्रविधि र सेवा क्षेत्र जस्ता सम्भाव्य क्षेत्रहरूमा लगानी गर्न प्रोत्साहित गरिदिन अनुरोध गर्दछु।’

उहाँले गत महिना रमजानको पवित्र महिना र ईदको पर्वको पावन अवसरमा १८ जना नेपाली कैदीलाई आममाफी दिने र रिहा गर्ने संयुक्त अरब इमिरेट्सको मैत्रीपूर्ण कदमको उच्च कदर गर्दै उक्त मानवीय कदमका लागि कृतज्ञता पनि व्यक्त गर्नुभयो।

उपप्रधानमन्त्री नाह्यानले जलवायु न्यायका सम्बन्धमा राष्ट्रपति पौडेलको भनाइको उच्च कदर गर्दै तथा ती भावनालाई मार्गदर्शनका रुपमा लिने बताउनुभयो।  ‘जलवायु परिवर्तनका क्षेत्रका कार्यलाई कठिनाई भइरहेको छ। तर यो मानव सिर्जित समस्या हो र हामीले भावी सन्ततीलाई सुन्दर विश्व हस्तान्तरण गर्नैपर्छ’,  नाह्यानको भनाइ उदृत गर्दै सल्लाहकार पोखरेलले बताउनुभयो। उहाँले नेपाल र युएईबिच सहकार्यका धेरै संभावना रहेकाले यसका लागि प्रयत्नहरू जारी राख्नुपर्ने बताउँदै भन्नुभयो, ‘नेपाल र युएईबिचको सम्बन्धलाई उचाईमा पु¥याउने र प्रगाढ बनाउने प्रचुर संभावना छ। यसका लागि म युएई सरकारका तर्फबाट प्रतिवद्धता व्यक्त गर्दछु।’

कश्मिरमा मारिएका सुदीपको शव नेपाल ल्याइने

blog
 वैशाख १० गते । काश्मिरको पाहलगममा भएको आतङ्ककारी हमलामा मारिएका नेपाली युवा सुदीप न्यौपानेको शव आजै नेपाल ल्याइने भएको छ। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय विदेश मन्त्रालयसँग गरेको पहलपछि उनको शव  ल्याइने व्यवस्था भएको हो।  हिजो कश्मिरमा आतंककारीरुको आक्रमणमा परेर सुदीपको ज्यान गएको थियो। उनको साथमा रहेका आफन्तहरु रिमकला पाण्डे, युवराज काफ्ले, सुषमा न्यौपाने र अर्का एक नेपाली हरिप्रसाद सापकोटालाई पनि आजै नेपाल ल्याउन लागिएको हो। आक्रमणमा परेर रिमकला घाइते हुनुहुन्छ।

मन्त्री डा. राणाले नयाँ दिल्लीस्थित नेपाली राजदूत डा शंकर शर्मासँग आज बिहानै कुराकानी गरी यस विषयमा समन्वय गर्न निर्देशन दिनुभएको थियो। मन्त्री डा. राणा र राजदूत डा. शर्माले भारतीय विदेश मन्त्रालयसँग यस विषयमा समन्वय गर्नुभएको थियो। सो समन्वयपछि आज नै साँझ ५ बजे श्रीनगरबाट नयाँ दिल्ली र राति ९ः३० बजे नयाँ दिल्लीबाट लखनौँ हवाई जहाजमा तथा लखनौबाट नेपालको बोर्डरसम्म एम्बुलेन्समा ल्याउने व्यवस्था गरिएको हो। दिल्लीबाट लखनौंको उडानका लागि उनीहरुलाई सहजीकरण गर्न दिल्ली विमानस्थलमा नयाँ दिल्लीस्थित नेपाली दूताबासबाट दुई जना कर्मचारी खटाइएको छ। त्यसैगरी सुनौली बोर्डरबाट बुटवल घरसम्म नै उनीहरुलाई पुर्याउने व्यवस्थाका लागि पनि मन्त्री डा राणाले गृहमन्त्री रमेश लेखकसँग कुराकानी गर्नुभएको छ।

घटनास्थलमा रहेका सुदीपका आफन्तले त्यहाँ बस्न सक्ने अवस्था नरहेकाले आज नै घर फर्किने व्यवस्थाका लागि अनुरोध गरेपछि परराष्ट्र मन्त्रालयले त्यसका लागि समन्वय गरेको हो। सुदीप वुटवल–११, कालिकानगर रुपन्देही निवासी हुनुहुन्छ। हिजोको सो आतंककारी हमालाको नेपाल सरकारले कडा शब्दमा निन्दा र भत्र्सना गरेको छ।

नेपाल–भारत अन्तरदेशीय प्रसारण लाइन बन्ने

blog, वैशाख १० गते । नेपाल र भारतबिच विद्युत् आदानप्रदानका लागि अत्यावश्यक रहँदै आएका दुई प्रसारण लाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापनाका लागि मङ्गलबार हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका विद्युत् र आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टरको उपस्थितिमा नेपाल विद्युत् प्राधिकरण र भारतको  पावर ग्रिड कम्पनी लिमिटेडबिच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

ऊर्जामन्त्री खड्काको निमन्त्रणामा दुईदिने भ्रमणका लागि खट्टरसहितको प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आउनुभएको छ । सम्झौतापत्रमा नेपाल विद्युत् प्राधिकरणका निर्देशक कमल आचार्य र पावर ग्रिड लिमिटेड भारतका निर्देशक डा. यतिन्द्र द्विवेदीले संयुक्त हस्ताक्षर गर्नुभयो ।

गत माघ ३० गते भारतको नयाँदिल्लीमा सम्पन्न नेपाल–भारत सचिवस्तरीय संयुक्त निर्देशक समितिको १२ औँ बैठकमा ४०० केभीको इनरुवा–न्यु पूर्णिया र दोदोधरा–बरेली प्रसारण लाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापनासम्बन्धी काम गर्ने सहमति भएको थियो । सोही सहमति अनुसार दुई प्रसारण लाइन निर्माण गर्न नेपालतर्फ स्थापना हुने संयुक्त कम्पनीमा नेपालको ५१ प्रतिशत र भारततर्फ स्थापना हुने कम्पनीमा भारतको ५१ प्रतिशत सेयर स्वामित्व रहने व्यवस्था गरिएको छ । बाँकी ४९ प्रतिशत अर्को देशको रहने छ ।

इनरुवा–न्यु पूर्णियाको लम्बाइ नेपालतर्फ करिब २५ किलोमिटर र भारततर्फ १०० किलोमिटर छ भने दोदोधरा–बरेली प्रसारण लाइनको नेपालतर्फ करिब ३५ किलोमिटर र भारततर्फ १५० किलोमिटर रहेको छ । कार्यक्रममा ऊर्जामन्त्री खड्काले दुई देशको ऊर्जा विकासमा यो सम्झौता महत्वपूर्ण भएको बताउनुभयो । उहाँले यी दुई प्रसारण लाइन केवल संरचना नभई आपसी विश्वास र दिगो विकासतर्फको साझा यात्रा भएको टिप्पणी गर्नुभयो ।

मन्त्री खड्काले अरुण–३, लोअर अरुण, अरुण–४, फुकट कर्णाली, अपर कर्णाली, एसआर–६ र पश्चिम सेतीजस्ता ठुला जलविद्युत् परियोजनामा भारतको निरन्तर सहयोगप्रति आभार प्रकट गर्नुभयो । कार्यक्रममा भारतका विद्युत्मन्त्री खट्टरले दुई देशबिच ऊर्जा क्षेत्रमा भएको प्रगति भारत र नेपालको गहिरिँदो सम्बन्धको द्योतक भएको उल्लेख गर्नुभयो । उहाँले सन् २०२२ मा नेपाल–भारतबिच जारी गरिएको संयुक्त दृष्टिकोणपत्रको स्मरण गर्दै तीन प्रमुख आधार संयुक्त उत्पादन, सीमापार पूर्वाधार र विद्युत् व्यापारमा उल्लेखनीय प्रगति भएको बताउनुभयो ।

विद्युतमन्त्री खट्टरले गोरखपुर–बुटवल प्रसारण लाइन निर्माण सुरु भएसँगै नयाँ परियोजनाले द्विपक्षीय ऊर्जा सुरक्षालाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो । नेपाली विद्युत् भारतीय प्रसारण लाइन हुँदै बङ्गलादेश निर्यात हुनु ऐतिहासिक उपलब्धि भएको उहाँको भनाइ थियो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्यले नेपालमा जलविद्युत् क्षेत्रको प्रचुर सम्भावना भएको बताउनुभयो ।

यसअघि मङ्गलबार दिउँसो ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका विद्युत्, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टरले अरुण तेस्रो जलविद्युत् आयोजनाको स्थलगत अवलोकन गर्नुभएको हाम्रा समाचारदाता सुजन बज्राचार्यले जानकारी दिनुभएको छ ।

 

सम्बन्धित समाचार

सबै