‘निरोगी नेपाल’ अवधारणामा कार्यक्रम बनाउन प्रधानमन्त्रीकाे निर्देशन

0 Shares

साउन २५ गते  प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपालको अवधारणाबाट स्वास्थ्य क्षेत्रका कार्यक्रम निर्माण र कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई  निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपर्षिद्को कार्यालयमा स्वास्थ्य क्षेत्रमा देखिएका समस्या, समाधानका उपाय र आगामी एक सय दिनभित्र गर्न सकिने ठोस कार्यक्रमका सन्दर्भमा निर्देशन दिँदै उहाँले शारीरिक र मानसिक स्वास्थ्यका क्षेत्रमा निरोधात्मक र उपचारात्मक विधिलाई प्राथमिकता दिने गरी कार्यक्रम निर्माण गर्न निर्देश गर्नुभयो ।

प्रधानमन्त्रीले स्वास्थ्य क्षेत्रका जनशक्तिलाई आवश्यक सम्पूर्ण सेवा सुविधा उपलब्ध गराइ परिचालन गर्न पनि सुुझाव दिनुभयो । उहाँले स्वास्थ्य संस्थामा सञ्चालन हुने आकास्मिक सेवालाई प्रभावकारी बनाउन र चिकित्सक तथा स्वास्थ्यकर्मीलाई थप जिम्मेवार बनाउनका लागि आवश्यक व्यवस्था गर्न निर्देशन दिनुभएको थियो ।स्वास्थ्य क्षेत्रका लागि अनावश्यक उपकरण तथा औषधि खरिद गर्ने र थन्क्याउने काम भइरहेको आफूलाई जानकारी प्राप्त भएको उल्लेख गर्दै प्रधानमन्त्रीले राज्यको स्रोत र साधनको दुरुपयोग अन्त्य गर्न निर्देशन दिनुभयो ।

“खरिद गरिएका उपकरण र औषधि प्रयोग भएनन् भने निजी क्षेत्र वा अन्य कुनै परोपकारी संस्थालाई पनि दिन सकिन्छ तर दुरुपयोग हुनुभएन, यसतर्फ विशेष ध्यान दिनुहोला”, निर्देशन दिँदै उहाँले भन्नुभयो ।त्यस अवसरमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल, म्ुख्यसचिव र सचिवलगायतको उपस्थिति थियो ।

सम्बन्धित समाचार

सबै