काठमाडौं, मङ्सिर १६ गते । रौतहटको कटहरिया नगरपालिकामा डकुमेन्ट्री निर्माणको नाममा सरकारी रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नौजनाविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
आयोगका अनुसार आर्थिक वर्ष २०७७/७८ मा नगरसभाबाट स्वीकृत नै नभएको कार्यक्रमलाई “जनचेतनामूलक भिडियो” भनेर अघि बढाइयो र सरिता फाउण्डेशनलगायत तीन फर्मबाट प्रस्ताव मागिएको थियो। मूल्याङ्कन प्रक्रियामा सबैभन्दा बढी अंक ल्याएको भन्दै सरिता फाउण्डेशनसँग सम्झौता गरी ५० प्रतिशत पेश्की रकम उपलब्ध गराइएको पनि सेट (pre-determined) प्रक्रियाको संकेत देखिएपछि अख्तियारले शंका प्रष्ट पार्दै मुद्दा दायर गरेको हो।
अनुसन्धानका क्रममा—
कार्यक्रम वार्षिक योजना सूचीमै नसमावेश,
लागत अनुमान बदनियतपूर्वक तयार,
स्क्रिप्ट, उपकरण र गुणस्तर मापदण्ड नतोकी डकुमेन्ट्री निर्माण,
तोकिएको समयसीमा नाघेर अर्को आर्थिक वर्षमा भुक्तानी,
जस्ता क्रियाकलापमा गम्भीर अनियमितता भेटिएको आयोगले जनाएको छ।
त्यस्तै, तयार गरिएका ४ वटा डकुमेन्ट्रीै पनि नगरप्रमुख–केन्द्रित प्रचार सामग्री जस्तै देखिएको, कुन विषयका जनचेतना सामग्री हुन् भन्ने स्पष्ट नभएको, र कुनै माध्यममा प्रसारण नै नभएकाले सरकारी रकम दुरुपयोग निश्चित भएको आयोगको ठहर छ।
अख्तियारका अनुसार डकुमेन्ट्री निर्माण भन्दै रु. ९ लाख ९८ हजार ९२१ हिनामिना भएको प्रमाण मिलेपछि सम्बन्धित व्यक्तिहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद, जरिवाना र बिगो असुल माग गर्दै मुद्दा दायर गरिएको हो।
राम प्रकाश साह – तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत
विवेक कुमार सहनी – तत्कालीन सहायक लेखापाल
राम नरेश प्रसाद यादव – तत्कालीन सहायक पाँचौँ
उमेश कुमार दास तत्मा – तत्कालीन सहायक कम्प्युटर अपरेटर
कौशल किशोर चौधरी – तत्कालीन खरिदार
छोटेलाल मिश्र – तत्कालीन खरिदार
सरिता फाउण्डेशन, काठमाडौं
सरिता कुमारी साह – निर्देशक, सरिता फाउण्डेशन
आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार, सबै प्रतिवादीलाई कानुनी दायरामा ल्याउन विशेष अदालतमा मुद्दा दर्ता भइसकेको र अब न्यायिक प्रक्रियाले दोष–निर्दोषको टुंगो लगाउनेछ।